Logo

यूरोप जाने सपनाः दश कक्षा नपढेकाबाट एमए पास ठगिन्छन्



काठमाडौं, २८ माघ । पछिल्लो समय रोजगारीको लागि यूरोपेली मुलुकमा पठाई दिने नाममा ठगीधन्दा बढेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार ठगीका घटना खाडी मुलुकमा बढी भए पनि रकमका हिसाबले यूरोप पठाउने नाममा हुने ठगीको मात्रा बढी छ ।

काठमाडौंको धुम्बाराहीमा रहेको कालिकोट ओभरसिजले एक सय भन्दा बढी व्यक्तिसँग प्रोर्चुगल, चेकरिपब्लिक पठाउने नाममा प्रत्येक व्यक्तिसँग एक डेढ लाखदेखि सात लाख रुपियाँसम्म उठाएर संचालक फरार रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यस्तै दृष्मा ओभरसिज, भेरी ओभरसिज, डलुस्को हयूमन रिर्सोसेज, मुनलाईट इन्टरनेशनल, साधना इन्टरनेशनल, क्यापिटल रिक्रुटमेन्ट सर्भिसेज, पाथिभरा एच आर शोलुशन लगायत यस्ता दर्जनौ मेनपावर कम्पनीले युरोप पठाउने नाममा ठगिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका निर्देशक हरिप्रसाद ज्ञवाली कालिकोट मेनपावरका सञ्चालक सम्पर्क विहीन भएको र सो मेनपावरमा रहेको धरौटी जफत गरि मुद्दा शाखाबाट कानुनी प्रक्रियाको लागि वैदेशिक रोजगार न्यायाधीकरणमा पठाएको बताए ।

ठगी गर्ने मेनपावरका सञ्चालकलाई खोजिकार्य गरेको बताए । अहिले यूरोपका नाममा ठगीएर वैदेशिक रोजगार विभागमा उजुरी गर्ने आउने भीड दिनप्रति दिन बढ्दै गएको छ ।
यूरोप पठाउने नाममा ठगिनेमा बढी शिक्षित पढेलेखेका रहेको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई बताउँछन्।

यूरोप पठाउने नाममा झुटा सपना देखाएर दस कक्षा पास गरेका व्यक्तिले एमए गरेका व्यक्तिलाई ठगी गरिरहेको निर्देशक गुरागाईको भनाई छ । यूरोप जानको लागि कम पढेलेखेका व्यक्ति आँट नगर्ने तर पढेलेखेका व्यक्ति यूरोप छिर्न लालाहित हुने गरेको कारण ठगीनेक्रम बढेको विभागको अनुमान छ ।

वैदेशिक रोजगारीको लागि पोल्याड, प्रोर्चुगल, चेकरिपब्लिक, टंकी, माल्टा, जापान, कोरिया, लगायत देशमा पठाउने नाममा मेनपावर र व्यक्तिगत रुपमा ठगने गिरोह उतिकै रहेको विभागको भनाई छ ।- गोरखापत्रका लागि मुकुन्द गैरेको रिपोर्ट साभार



प्रतिक्रिया दिनुहोस्