Logo

सस्तोमा टिकट बेच्न नदिने गरी हवाई नीति



काठमाडौं, माघ २९ । सरकारले नयाँ ‘राष्ट्रिय हवाई नीति २०६७’ आगामी चैतबाट लागू गर्ने जनाएको छ। २६ वर्षअघि बनेकोे ‘राष्ट्रिय हवाई नीति–२०५०’ लाई तेस्रोपटक परिमार्जन गर्न नयाँ हवाई नीतिको मस्यौदा सार्वजनिक गरिएको छ। मस्यौदा तयार पार्न बनेको कार्यदलका सदस्यले मस्यौदामाथि अहिले विभिन्न मन्त्रालय, योजना आयोग र सरोकारवालासँग छलफल भइरहेको बताएका छन्।

अहिलेकै अवस्थामा राष्ट्रिय हवाई नीति २०७६ संसद्बाट पारित भए आन्तरिकतर्फका हवाई उडानमा प्रतिस्पर्धाको आधारमा सस्तो टिकट बेच्न पाइने छैन। सरकारले हवाई भाडामा एकरुपता ल्याउने भन्दैतयार पारेको मस्यौदामा उद्योग संरक्षणको नाममाटिकटकोे न्यूनतम मूल्य निर्धारणमा कडाइ गर्न खोजेको छ। उक्त प्रावधान संशोधन नभई पारित भए विमान कम्पनीहरुले तोकिएभन्दा कम मूल्यमा टिकट बेच्न पाउने छैनन्।

प्रस्तावित मस्यौदामा नेपाल नागरिक उडड्यन प्राधिकरणको सिफारिसको आधारमा अधिकतम र न्यूनतम सीमा तोकी प्रत्येक उडान खण्डको आन्तरिक सेवाको हवाई भाडा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तोक्ने उल्लेख छ। अहिले आन्तरिकतर्फका केही विमान कम्पनीले अफ सिजन भन्दै यात्रुलाई सस्तोमा उडान सेवा दिइरहेका छन्। प्रस्तावित व्यवस्था लागू भए न्यूनतम मूल्यभन्दा तल झरेर टिकट बेचे कारवाही भोग्नुपर्नेछ।

मन्त्रालयले तोकेको आन्तरिक हवाई भाडाको सीमाभित्र रही सेवा सञ्चालन नगर्ने र अस्वस्थ प्रतिस्पर्धा गर्ने वायुसेवा कम्पनीलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले हस्तक्षेपगरीकारवाही नै गर्ने भएपछि व्यापारिक प्रतिस्पर्धाको लाभबाट हवाई यात्रु वञ्चित हुनेछन्। अहिले पर्यटकीय दृष्टिले अफ सिजन भन्दै केही हवाई कम्पनीले यात्रु आकर्षित गर्न कतिपय गन्तव्यमा भाडादर घटाउने प्रतिस्पर्धा गरिरहेका छन्। सस्तो प्रतिस्पर्धाले यात्रुले कम मूल्यमा हवाई यात्रा गर्न पाएका छन्। नयाँ हवाई नीतिले त्यो बाटो बन्द गर्न खोजेको छ। सरकारले हवाई उद्योग संरक्षण गर्ने भन्दै प्रतिस्पर्धा नियन्त्रण गर्न खोजेकामा हवाई व्यवसायी नै असन्तुष्ट देखिन्छन्।

 



प्रतिक्रिया दिनुहोस्