Logo

माओवाद भुलेका माओवादी



काठमाडौँ, २९ माघ । २०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरू अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्।

प्रतिनिधि सभामा जितेका वर्षमान पुन, प्रदेशसभा (क) बाट निर्वाचित कुलप्रसाद केसी सोनाम र (ख) बाट निर्वाचित दीपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन्। सोही १० वर्षे सशस्त्र द्वन्द्वका अर्का रोल्पाली हस्ती नेत्रबिक्रम चन्द विप्लव यतिबेला एकीकृत जनक्रान्तिका नारा बोकेर भूमिगत छन्। हिजो सँगै युद्ध लडेका विप्लवका धेरै सक्रिय कार्यकर्ता जेल वा हिरासतमा छन्। एकले अर्कोलाई सिध्याउने लक्ष्य बोकेका जस्ता देखिने हिजोका उग्र माओवादीले माओवाद भने भुलिसकेका छन्। ३ वर्ष अगाडि रोल्पाको थबाङमा भएको अधिवेशनमा माओवादलाई उतै छाडेर आएको विप्लव नेतृत्वको विद्रोही नेकपा र एमालेसँग पिरती गाँस्दा माओवादलाई छेउतिर पन्छाएको सरकारी नेकपाका गतिविधिले पूर्व लडाकु र कार्यकर्ता भने यतिबेला असन्तुट देखिन्छन्।

होलेरी आक्रमणसँगै भूमिगत भएको तत्कालीन माओवादी र उसको नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य भूमिका रहेको दाबी गर्दै देश समृद्धिको बाटोमा अगाडि बढेको बताइरहँदा आम जनमासमा असन्तुष्टि बढ्दै गएको छ। अहिलेसम्म राजनीतिक परिवर्तनबाहेक समयक्रमले भएको वा हुनसक्ने विकासबाहेक केही भएन भन्ने गुनासो युद्धमा लागेकैहरु बताउँछन्। परिवर्तनको मिठो सपना बोकेर २४ वर्षअगाडि बन्दुक समाएका लडाकुहरूसमेत यतिबेला अलमलमा देखिन्छन्। पछिल्लो समय तत्कालीन माओवादी कार्यकर्तामा आएको विचलन देखेर माओवादी लडाकुका पूर्वकमाण्डरसमेत दिक्क छन्। (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्