राजपा ठाकुरको नेतृत्वमा सरकारमा जाने !


काठमाडौं, २९ माघ । राजपा नेपालले सरकारमा जाने कि नजाने भन्नेबारे अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन् । तर, केही समययता राजपा सरकारमा सहभागी हुनेबारे समाचार आईरहेका छन् । यसको लािग राजपा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले आन्तरिक तयारी थालेको पनि चर्चा छ । महतोले आफ्नो नेतृत्वमा पार्टी सरकारमा सहभागी हुनेगरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुसँग छलफल गरेको स्रोतको दाबी छ ।

उनले चार मन्त्रालय र उपसभामुख दिनुपर्ने माग राखेका छन् । तर, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि हालतमा चार मन्त्रालय नदिने अडान राखेका छन् । यता राजपाभित्रै तत्काल पार्टी सरकारमा जान नहुने मत बलियो हुँदै गएको छ । प्रभावशाली नेताहरुले नै यदि राजपा सरकारमा गए प्रतित्युत्पादक हुने खतरा औंल्याईरहेका छन् । ‘गिभ एण्ड टेक’ अनुसार सरकारमा सहभागी हुने भएपनि महतोको नेतृत्वमा जान नहुने राजपाका अर्को थरी नेताहरुको तर्क छ । बरु, अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको नेतृत्वमा जान सकिने उनीहरुको भनाई छ ।

ठाकुरलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने र महतो गए उनलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिन सकिने प्रधानमन्त्रीको संकेत छ । तर, अहिले नै यसबारेमा कुनै ठोस सहमति भने भैसकेको छैन् । त्यस्तै, प्रतिनिधिसभाको उपसभामुखमा राजपा नेपालले दाबी गरेको छ । यसको लागि चन्दा चौधरीलाई पठाउनेबारे राजपाभित्र आन्तरिक छलफल भएको छ । तर, उनको नाममा पनि सहमति भैसकेको भने छैन् । file photo