Logo

एमसीसीबारे अहिले बोल्न मिल्दैन् : रावल



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा एमसीसीबारे पार्टीले गठन गरेको कार्यदलका सदस्य भीम बहादुर रावलले अहिले एमसीसीबारे सार्वजनिक रुपमा आफूहरुले टिकाटिप्पणी गर्न नमिल्ने आचारसंहिता बनाएको सुनाए । आफूहरु अहिले अध्ययनको चरणमा रहेकोले छिट्टै यसबारेमा प्रतिवेदन बाहिर ल्याउने र आफ्ना कुरा राख्ने सुनाएका छन् ।

अमेरिकाले प्रष्ट रुपमा एमसीसीमा संशोधन अमान्य भनेर बोलिसक्यो नि ? अब के गर्नुहुन्छ ?
हामी त कार्यदलमा छलफल गर्दैछौं । अब कसले के भन्यो ? त्यतातर्फ जाँदैनौं । तर, यसबारेमा पनि हामी कार्यदलमा छलफल गर्छौं ।

कार्यदलमा तपाईहरुले के छलफल गरिरहनुभएको छ ?

अहिले हामीले तथ्यहरु संकलन गरिरहेका छौं । हामी छिट्टै प्रतिवेदन तयार पार्छौं । कार्यदलको समय सकिएको छ । यसबारेमा पनि कुरा हुन्छ ।

अमेरिकाले एमसीसी कम्प्याक्टमा भएको कुनैपनि प्रावधान परिवर्तन गर्न नहुने अडान राखेको छ ? तपाईहरु के भन्नुहुन्छ ?

यस सम्बन्धमा हामीले व्यक्तिगत रुपमा टिकाटिप्पणी नगर्ने आचारसंहिता र विधि बनाएका छौं । यी सबै विषयबारे कार्यदलमा छलफल हुन्छ । हामी एमसीसीसँग सम्बन्धित सबै विषयमा कार्यदलमा छलफल गर्छौं । तथ्यमा आधारित विषयमा छलफल गर्छौं ।

अमेरिकाले दिएको अनुदान नेपालले लिने कि नलिने ? यो कुरा आज नेपाली जनतालाई बताईदिनुहोस ।

त्यो विषयमा अहिले हामीले कार्यदलमा दस्तावेजहरुको अध्ययन गर्ने, तथ्यहरु केलाउने लगायतका सबै कामहरु गरिरहेका छौं । हाम्रो राष्टिय हित सर्वोपरि हुन्छ ।तदअनुरुप अघि बढ्छौं ।

कार्यदलको सदस्य बन्दैमा तपाईको मुखमा बुझो लागेको हो ?

अहिले हामी अध्ययनमा छौं । कार्यदलमा काम गरिरहेको बेलामा अहिले के के विषयमा छलफल गरिरहेका छौं भन्नेबारे भन्न चाहन्छन् । सबै विषय परीणामको रुपमा आउँछन् । कार्यदलमा कसले के भनेको छ ? भन्ने कुरा बाहिर ल्याउन मिल्दैन् ।

भीम रावल अब एमसीसीको पक्षमा उभिएको हो ?

जनताले चासो राख्नु स्वभाविक हो । कार्यदलको प्रतिवेदन आएपछि जनताले थाहा पाउँछन् । तर, म कार्यदलको प्रतिवेदन आएपछि सार्वजनिक रुपमा बोल्छु । अहिले त्यसमा बोल्नको लागि आचार विधिले दिँदैन् ।

विष्णु रिमालले पनि तपाईपनि अब एमसीसीको पक्षमा हुनुहुन्छ, अब पास हुन्छ भन्नुभयो नि ?

कसले के भन्छ होईन । अहिले कार्यदलमा हामी अध्ययनरत छौं । हामी समय दिएर काम गर्दछौं । सम्झौता हामीले पहिले नै अध्ययन गर्यौं । सरकारी दस्तावेजमाथि थप अध्ययन गर्दछौं । तथ्यमा आधारित भएर निश्कर्ष निकाल्छौं ।

अख्तियारले ललिता निवासको जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ? यसलाई तपाईले कसरी लिनुभएको छ ?

सबैभन्दा पहिले नीतिगत रुपमा म के भन्न चाहन्छु भने कुनै व्यक्तिले अनियमितता वा भ्रष्टाचार गरेको छ भने त्यसमा कानून आकर्षित हुन्छ । सम्बन्धित निकायले त्यसमा कारबाही गर्नुपर्छ । र, त्यो कारबाही गर्दा तथ्यको आधारमा निश्पक्ष रुपमा गर्नुपर्छ । जो जो दोषी छन्, ती सबैलाई कारबाही गर्नुपर्छ भन्ने मेरो नीतिगत धारणा छ । जहाँसम्म विषय व्यक्ति व्यक्तिको बारेमा छ, म कार्यदलमा केन्द्रित भएको हुनाले मैले ध्यान यता कार्यदलको विषयमा बढि लगाएको छु । अब यसमा कुन कुन व्यक्तिले के के गरेका थिए ? मिशिलहरुमा के छ ? अब मेरो यो काम सकिएपछिमात्रै म त्यसमा अध्ययन गर्छु । भ्रष्टाचार गर्ने कसैले पनि उन्मुक्ति पाउनुहुँदैन् । कानून सबैको लागि लागु हुन्छ ।

माधव नेपाल प्रधानमन्त्री हुँदा निर्णय भएको कुरा हो नि यो, तर उहाँलाई कारबाही भएन ? यसमा तपाईको धारणा के हो ?

कसले के भन्छ भन्नेतिर म जान चाहन्न् । मेरो ध्यान अहिले एमसीसीको कार्यदलतिर छ । मैलै नीतिगत रुपमा आफ्नो धारणा राखिसकेको छु ।

चीनमा फैलिएको कोरोना भाईरसको कुरा गरौं, चीनबाट आउनेहरुलाई नेपालमा आउन दिनुहुँदैन भनेर अहिले नेपालमा जनमत बढेको छ ? तपाई के भन्नुहुन्छ ?

आफ्नो देशको नागरिक बाहिर देशमा खतरामा परेका छन् भने निजहरुलाई सुरक्षित रुपमा ल्याउने र उनीहरुको स्वास्थ्यलाई सुरक्षित राख्ने र, उनीहरुलाई राख्दाखेरि अरु आम जनताको स्वास्थ्य स्थितिमा त्यसको प्रतिकुल प्रभाव नपरोस भनेर त्यसमा ध्यान दिने काम गर्नुपर्छ भन्नेमा कुनै मतभेद हुन सक्दैन् । आफ्नो देशका नागरिक बाहिर अप्ठ्यारोमा पर्दा नेपाल ल्याउनै हुँदैन भन्ने कुरा कसरी हुन्छ र ?

नेपाल नागरिकहरुलाई उद्धार गर्नुपर्छ, तर चिनियाँहरुलाई चाहीँ रोक्नुपर्छ भन्ने जनमत बढ्यो भन्ने कुरा छ नि ?

पहिलो कुरा त जुन देशबाट नागरिक आउँछन्, त्यही देशले स्वास्थ्य परीक्षण गरेर पठाउँछ । उनीहरु स्वस्थ छन् किन छैनन् भन्ने कुरा उसले हेर्छ । हामीले पनि परीक्षण गर्नुपर्छ । सीमा नाकामा पनि गर्नुपर्छ । यसो गर्न सकियो भने कुनैपनि महामारीको प्रभाव पर्दैन् । यो कुरामा हामीले ध्यान दिनुपर्छ ।

वर्तमान सरकार गठन भएको यही फागुण ३ गते २ वर्ष पूरा हुँदैछ ? यो सरकार कति सफल कति असफल ? ठ्याक्कै भनिदिनुहोस त ?

सरकारले आफूले नै यो अवधिमा यो यो काम गर्यौं भन्छ, अनि त्यतिवेला हामी टिकाटिप्पणी गर्छौं । तर, मैले त राम्रो कामको खुलेरै प्रशंसा गर्ने गरेको छु र कतिपय काम जुन देश र जनताको अहितमा हुने कुराको मैले सार्वजनिक रुपमै विरोध गरेको छु । file photo



प्रतिक्रिया दिनुहोस्