Logo

प्रहरीले रोके बालविवाह



काठमाडौँ, १ फागुन । सिरहाको कर्जन्हा नगरपालिका–६ मा रिझन मुखियाकी १५ वर्षीया छोरी रञ्जुकुमारी मुखियाको विवाह सोमबार धनुषाको यदुकुहा नगरपालिका सिमराढीका अजय मुखियासँग हुनै लागेको थियो, त्यही बेला स्थानीय प्रहरी विवाहस्थलमा पुग्यो ।

विवाहस्थलमा पुगेको प्रहरी टोलीलाई देखेर सुरुमा सबै झस्किए । किन प्रहरी टोली आयो भनेर सबैमा खुल्दुली मच्चियो, त्यही कारण विवाहस्थलमा खासखुसे माहोल पनि सिर्जना भयो । प्रहरी टोलीले विवाहस्थलमा बडो सौहार्दपूर्वक ढङ्गले बेहुली र बेहुलाका पितालाई बोलायो । दुवैलाई बालविवाहबारे थाहा छ कि छैन भनेर सोध्यो । संयोगवश दुवैलाई बालविवाहबारे थाहा रहेनछ । प्रहरी टोलीले बेहुला र बेहुलीका पितालाई बालविवाह गर्न नहुने कानुनी र व्यावहारिक ज्ञानबारे अवगत गराए । त्यसपछि दुवैपक्ष बालविवाह गर्नु हुँदैन भन्ने कुरामा सहमत भए र बेहुला पक्ष बेहुलीबिना नै घर फक्र्यो । रञ्जुकी आमा सुनितादेवी मुखियाले आफूहरूलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएको सुनाए । हामीलाई विवाहका लागि २० वर्ष पुग्नुपर्छ भन्ने थाहा थिएन, उनले भने राम्रो घर पाएको र दाइजो पनि नलिने भएपछि छोरीको विवाह गर्न लागेका थियौँ ।

यस्तै घटना सोमबार मिर्चैया नगरपालिका–१ का श्रीराम कापैरकी छोरी सङ्गीता कापैर र कल्याणपुर नगरपालिका–१ का रामनरेश माझीकी छोरी गनिता माझीको विवाहको बेलामा पनि घट्यो । त्योभन्दा एक दिन अगाडि आइतबार पनि मिर्चैया नगरपालिकाको वडा नं. ५ मा एउटा बालविवाह प्रहरीले रोकेको थियो । स्थानीय प्रहरीले उक्त चारवटै स्थानमा भइरहेको बालविवाहलाई रोकेर स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका अगुवाको रोहवरमा गाउँका कुनै पनि बालबालिकालाई उमेर नपुगी विवाह नगराउने प्रतिबद्धता समेत व्यक्त गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्