Logo

ट्राफिक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुन



काठमाडौँ, १ फागुन : सचेतनाका आ आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ ।

यसक्रममा महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’ प्रयोग गरेको थियो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुलाई व्यवहारमा लागू गर्न सजिलो हुने बताए।

साङ्गीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकार हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिलबहादुर गन्धर्वलगायतले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन’ बोलको सचेतनामुलक गीत गाएका थिए ।

गीतको माध्यमबाट जेब्राक्रसिङ र आकाशेपुलको प्रयोग, सडक सङ्केतको पालना, मापसे गरी सवारी नहाक्न, तीव्र गति र लापरवाहीका साथ सवारी नचलाउन अनुरोधसमेत गरिएको थियो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आगामी दिनमा अभियानलाई उपत्यकाका सबै चोकमा सञ्चालन गर्ने जानकारी दिए । सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जीवन पद्धतिका रुपमा लिने विश्वास महाशाखाले लिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्