Logo

लक्ष्यभन्दा बढी राजश्व सङ्कलन



भद्रपुर, १ फागुन : आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ८७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालू आव २०७६-७७ को माघ महिनासम्ममा रु एक अर्ब ८६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले पुराना कर नबुझाएका करदाताबाट सो अवधिमा रु ४४ करोड उठाउन सफल भएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले जानकारी दिए। चालू आवको असार मसान्तसम्ममा रु तीन अर्ब ६६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले सात महिनाको अवधिमा आयकरतर्फ रु ७७ करोड, मूल्य अभिवृद्धि करतर्फ रु ८७ करोड र अन्तशुल्कतर्फबाट रु २४ करोड राजश्व सङ्कलन गरेको उनको भनाइ थियो ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङमा ८० हजार बढी व्यावसायिक करदाता छन् । समयमै मूल्य अभिवृद्धि र आम्दानी कर नबुझाएका निर्माण कम्पनी, उद्योगी व्यवसायीलाई पत्राचार गरेर कर बुझाउन अनुरोध गरिरहेको उनले बताए ।

“हामीले पटक–पटक पत्राचार गरेका छौ”, उनले भने, “अब अटेर गरेमा पत्रपत्रिकामा सूचना जारी गरेर उनीहरुको बैंक खाता रोक्ने र घरजग्गा लिलामी गरी असुल्ने तयारीमा छौँ ।”

गत आव २०७५-७६ मा कार्यालयले रु दुई अर्ब ६१ करोड ५६ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा लिए पनि रु दुई अर्ब ६२ करोड २५ लाख २६ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले ई–हाजिरी सेवा शुरु गर्नुका साथै ‘आइपी’ क्यामेरा जडान गरी मोबाइलबाट र सिसीटिभीबाट अनुगमन गर्ने गरेको प्रमुख कर अधिकृत श्रेष्ठले बताए । सेवाग्राहीलाई प्रभावकारी र सरलीकरण सेवा प्रवाह गर्न कार्यालयमा सहयोग कक्ष राखिएको छ ।

कार्यालयले जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा अवैधरूपमा भेटिएको एक हजार ७०० लिटर मदिरा र ६० बोरा सुर्ती नष्ट गरेको छ । लामो समयदेखि बरामद गरिएका उक्त सामग्री कार्यालयको कोठामा भण्डारण गरिएको थियो । भद्रपुर नगरपालिकाको सहकार्यमा उक्त सामग्री नष्ट गरिएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्