Logo

सानेपा हत्याकाण्डः मृतक दुवैको भित्री वस्त्रको फोरेन्सिक जाँच



काठमाडौं, १ फागुन । पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरी दुवैको भित्री वस्त्रको फोरेन्सिक जाँचका लागि पठाइएको छ । घटनाबारे विभिन्न शंका आशंका बढेपछि कुनैपनि प्रमाण नष्ट नहुने गरी ललितपुर प्रहरीले जाँच गरिरहेको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार मृतकका कपडा देखि घटनास्थलमा भेटिएको सानोभन्दा सानो फोहोरको टुक्रा समेत अनुसन्धानका लागि संकलन गरिएको छ । त्यस क्रममा भित्री वस्त्रको फोरेन्सिक जाँचका लागि पठाइएको छ ।

भित्री वस्त्रको फोरेन्सिक जाँचपछि घटनाको कारणबारे अझ प्रष्ट हुने प्रहरीको भनाई छ । महानगरीय प्रहरी परिसर ललितपुरका एक अनुसन्धान अधिकृतले भने, घटनाबारे ९९ प्रतिशत पत्ता लागिसकेको छ अब केही आशंका मेट्न मात्र प्रमाण संकलन बाँकी छ ।

प्रहरीले घटनामा मृतक मुना कार्कीमाथि शारीरिक दुव्र्यवहार नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । तर, यसलाई प्रमाणित गर्न पनि फोरेन्सिक जाँच र पोष्टमार्टम रिपोर्ट संकलन गर्दैछ । यसपछि मात्र अन्तिम निष्कर्षमा पुगेर जानकारी गराइने ललितपुर प्रहरीले जनाएको छ ।

सोमबार भएको सानेपा हत्याकाण्डमा पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीलाई घरेलु कामदार विजय चौधरीले हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निचोड रहेको छ । तर, यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले बताए ।



प्रतिक्रिया दिनुहोस्