Logo

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिँदै



बागलुङ, १ फागुन : शिवरात्रि पर्वका अवसरमा यही फागुन ९ गते यहाँका पर्यटन सम्बद्ध सङ्घसंस्थाले ‘राइड टु डोहेरी, हाइक टु दारेगौँडा’ प्रवद्र्धनात्मक कार्यक्रमको आयोजना गरेका छन् ।

मोटरसाइकल र पदयात्रामार्फत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका पर्यटकीय गन्तव्यको प्रचार एवं प्रवद्र्धनको प्रयास गरिएको हो । बागलुङ पर्यटन विकास केन्द्र, कालिका भगवती गुठी व्यवस्थापन समिति, काठेखोलाको वडा नं २ र पुष्पाञ्जली ग्रामीण विकास केन्द्र मिलेर कार्यक्रम आयोजना गरेका हुन् ।

सो दिन बिहान कालिका भगवती मन्दिरको प्रवेशद्वारदेखि शुरु हुने मोटरसाइकल यात्रा सर्वसिद्धिधाम पञ्चकोट, भीमादरबार हुँदै काठेखोला–२ डोहेरीमा पुगेर टुङ्गिनेछ । डोहेरीबाट ४५ मिनेट पदयात्रा गरेर दारेगौँडा पुग्ने कार्यक्रम रहेको आयोजक पुष्पाञ्जली ग्रामीण विकास केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए । “पर्यटन प्रवद्र्धनको उद्देश्यले मोटरसाइकल यात्रा आयोजना गरिएको हो, कम्तीमा पनि ५० जना मोटरसाइकल चालक सहभागी हुने अपेक्षा लिइएको छ”, उनले भने ।

उक्त कार्यक्रमबाट नेपाल भ्रमण वर्षलाई समेत टेवा पुग्ने अपेक्षा लिइएको छ । लुकेर रहेका पर्यटकीयस्थलको पहिचान र प्रचारप्रसार हुने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । वडा नं २ का अध्यक्ष विद्यापति शर्माले भिमापोखराका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्र पर्यटकको पर्खाईमा रहेको उल्लेख गरे । “हामीसँग थुप्रै सम्भावना बोकेका ठाउँ भए पनि तिनको उचित प्रवद्र्धन हुन सकेको छैन”, उनले भने ।

उक्त वडामा बाइसेचौबिसे राज्यका बेला भीमा दरबार, महारानी थान, डोहेरी, गुनगुनेको धुरी, दारेगौँडालगायत पर्यटकीय महत्व बोकेका ठाउँ छन् । भीमापोखराकै सिममा वर्षौंदेखि लाग्दै आएको शिवरात्रि मेला अहिले पनि यथावत छ । यो वर्ष पनि विविध खेलकूद, सांस्कृतिक कार्यक्रमसहित मेला हुँदैछ । सोही मेलाको अवसर छोपेर पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गरिएको हो । मोटरसाइकल यात्राका सहभागीले शिवरात्रि मेलामा पनि रमाउने अवसर पाउनेछन् ।रासस



प्रतिक्रिया दिनुहोस्