Logo

तरकारीको मूल्यमा बिचौलियाको राज



काठमाडौंँ, २ फागुन । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बिहानैदेखि घुइँचो हुन्छ ।  सस्तो तरकारी पाइन्छ भनेर गृहणीहरू आउने गर्छन् तर कालीमाटीका लागि सबैभन्दा ठूलो समस्या भनेको मूल्य नै हो । बिचौलियाले पत्रपत्र गरेर मूल्य बढाउँछन् ।

छैन मूल्यसूची
त्यहाँको मूल्य कसैको नियन्त्रणमा छैन । खुद्रा व्यापारी त्यहाँ पुग्दासम्म तरकारीको मूल्य के हुन्छ भन्ने थाहा हुँदैन । त्यहाँ ठूला व्यापारीलाई सोधपुछ गरेपछि मात्र थाहा हुन्छ । मूल्य थाहा नहुँदा कतिपय व्यापारी तथा उपभोक्ता ठगिएको देखिएको छ । सरकारले सबै पसल तथा होटलमा देखिने गरी मूल्यसूची राख्न अनिवार्य गरेको छ । तरकारी बजारमा मूल्यसूची नै छैन । कालीमाटीको गेटभित्र छिर्नेबित्तिकै कुन तरकारी कति मूल्यमा पाइन्छ भनेर जान्नै समस्या भएको दुखेसो सानेपाका खुद्रा व्यापारी विपीन केसीले गर्नुभयो । न समितिले देखिने गरी कहीँ सूची राखेको छ न कुनै स्टलमा मूल्यसूची झुण्डिएको पाइन्छ, त्यसले गर्दा त्यहाँका व्यापारीले भनेकै मूल्यमा तरकारी किन्न बाध्य हुनुपरेको उनले बताउएका छन् ।

कालीमाटी तरकारी बजारभित्र समितिको भवन छ । भवनमाथि मूल्यसूची प्रदर्शन हुने ठूलो बोर्ड छ तर त्यो दुई महिनादेखि बन्द छ । मूल्यसूची अद्यावधिक गर्ने बजार सहायक राजेश श्रेष्ठसँग मूल्यसूचीबारे जिज्ञासा राख्दा उहाँले आफ्नो मोबाइल खोलेर मूल्य देखाएका थिए । उनले भने, “फेसबुक, अनलाइनमा मूल्यसूची हेर्न सक्नुहुन्छ ।” मूल्यसूची कसरी अद्यावधिक गर्र्नुहुन्छ भन्ने जिज्ञासामा श्रेष्ठले बजारको अनुगमन गरी व्यापारीसँग सोधेर मूल्य तय गर्ने गरिएको जनाएका छन् । समर्थन मूल्य तोकेको छैन । दिनैपिच्छै मात्र होइन, घण्टैपिच्छे मूल्य फरक हुन्छ अर्थात् कालीमाटी बजारको मूल्य नियन्त्रणमा छैन । बिहान ३ बजेदेखि ५ बजेसम्म एउटा मूल्य हुन्छ भने ५ बजेदेखि ७ बजेसम्म अर्को र फेरि ७ बजेपछि अर्को मूल्यमा बिक्री भइरहेको हुन्छ । यस्तो हुनुको एउटै कारण तरकारी बजार किसान तथा उपभोक्तामुखी नहुनु हो । कालीमाटी तरकारी बजार न किसानमुखी हुन सकेको छ, न उपभोक्तामुखी । त्यसैले बजारको मूल्य सरकारको नियन्त्रणभन्दा बाहिर रहेको विश्लेषण गरिएको छ ।

किसानको पहुँच तरकारी बजारसम्म छैन । व्यापारीले किसानकै खेतमा गएर तरकारी किन्छन् । ठूल्ठूला व्यापारीले किसानलाई कालीमाटी बजारको गेटभित्र छिर्नै नदिएको गुनासो छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरे कालीमाटी तरकारी बजार किसान तथा उपभोक्तामुखी हुन नसकेको स्वीकार गरेका छन् ।  (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्