Logo

निर्बाध आउँछन् चिनियाँ



काठमाडौं, २ फागुन । चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ। कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन्। कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन्।

चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ। अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ। चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन्। कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए। उनले भने, ‘पर्यटक आइरहेका छन्। यकिन संख्या थाहा छैन।’ उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन।

पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा. शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन्। उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन्। परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ।’ सरकारले नेपाली विद्यार्थीलाई उद्धारमा अनिर्णयको बन्दी हुन नहुने डा. वन्तको भनाइ छ। ‘चीनमा रहेका विद्यार्थी साँच्चिकै अप्ठेरोमा छन् भने उद्धारमा ढिलाइ गर्नु हुँदैन। राज्य अभिभावक हो। जतिसक्दो छिटो उद्धार गर्नु उसको दायित्व हो’, उनले भने। चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन्। चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन्। त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन्। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्