Logo

सानेपा हत्याकाण्डः मुनामाथि क्षणिक आवेगमा हमला, यसकारण कुकुरको बचाउने प्रयास असफल



काठमाडौं, २ फागुन । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीमाथि घरेलु कामदार विजय चौधरीले वर्षौं देखिको रिस एकैपटक पोख्दा ज्यान लिएको प्रहरीको अनुसन्धानको निष्कर्ष रहेको छ । प्रहरी स्रोतका अनुसार मुना अलि कचकचे स्वभावको हुनुले त्यस दिन आक्रोशित मुनामाथि एकैपटक रिस पोखेका थिए । त्यस क्रममा उनले ज्यानै लिएका थिए ।

मुनामाथि कुनै शारीरिक दुव्र्यवहार नगरेको प्रहरीले बताएको छ । सीसीटीभी फुटेज र पोष्टमार्टम रिपोर्टमा समेत शारीरिक दुव्र्यवहार नदेखिएको प्रहरी स्रोतले बताएको छ । तर, भित्री वस्त्रको फोरेन्सिक जाँच बाँकी रहेकाले प्रहरी अझै अन्तिम निष्कर्षमा पुगेको छैन । विजय अलि रिसाहा र सनकी स्वभावको भने भएको प्रहरीले पत्ता लगाएको छ । सनकी स्वभावको भएकाले पनि हत्या गर्न तत्पर भएको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

मुनालाई बचाउने प्रयास
जब मुना कार्कीमाथि विजय चौधरी आक्रमणमा उत्रिए तब घरमा पालेको जर्मन सेफर्ड कुकुरले चाल पाउँछ । मुना पहिलोपटक चिच्याउने वित्तिकै कुकुरले चाल पाएर भित्र पस्न खोज्छ । तल्लो तल्लाको भान्छाभित्र छिर्ने बाहिरको ढोका बन्द हुन्छ । कुकुर ढोकामा हान्न पुग्छ । भान्छाको वरिपरि घुमिरहन्छ । झ्याल फुटाउनै खोज्छ । भित्र पस्न सक्दैन । कुकुर भुक्दै भान्छा वरिपरि घुमिरहँदा विजय चौधरी मुनाको घाँटीमा डोरीले कसेर मार्ने प्रयास जारी राख्दछन् । त्यो दृश्य झ्यालको ऐनाबाट देखेपछि कुकुर झन् आक्रामक रुपमा प्रस्तुत हुन्छ । तर, भित्र छिर्ने भान्छाको ढोका बन्द भएकाले सक्दैन ।

सोमबार सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की हत्याको सीसीटीभी फुटेजमा सेफर्ड कुकुर पनि कैद भएको र उसको गतिविधिबारे समेत प्रहरीले अनुसन्धान गरेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, कुकुर भित्र छिर्न पाएको भए सायद मुना कार्कीको ज्यान जाँदैनथियो । कुकुरले विजय चौधरीको ज्यान लिन्थ्यो होला ।

यसैगरी, पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरी दुवैको आ आफ्नो संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । मुनाको पशुपति आर्यघाटमा र चौधरीको दाङमा परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । पाटन अस्पतालमा पोष्टमार्टमपछि मुनाको शव परिवारले बुझेको थियो । उनका दुई छोरीहरु बेलायत र अष्ट्रेलियाबाट आइपुगेपछि अन्त्येष्टि गरिएको बुझिएको छ । यसैगरी, विजय चौधरीका पिता जानकी चौधरी ललितपुर आएर शव बुझेका थिए । उनले बुधबार नै शव दाङ लिएर गएका थिए । विजयको परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्