Logo

प्रदेशस्तरीय भलिबल आयोजना हुँदै



काठमाडौँ, २ फागुन : कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर गण्डकी प्रदेशअन्तर्गतका स्थानीय तहबीच ‘अध्यक्ष कप भलिबल’ प्रतियोगिता गर्ने भएको छ । यही फागुन २४ देखि २७ सम्म गाउँपालिकाले दोस्रो संस्करणको भलिबल प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । भलिबल प्रतियोगितामा गण्डकी प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहलाई सहभागिताका लागि पत्राचार गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । युवालाई खेलकूदको माध्यमबाट उनीहरुको शारीरिक, मानसिक, संवेगात्मक र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उनले बताए । भलिबल प्रतियोगिताको विजेताले रु एक लाख २० हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीयले रु ९० हजार, तृतीयले रु ६० हजार तथा सान्त्वनालाई रु ३० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रोलाई जनही रु तीन हजारका दरले पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने बताइन्छ । त्यसैगरी गाउँपालिकाभित्र लोप हुन लागेको विभिन्न जाति तथा समुदायको संस्कृति तथा परम्परालाई जर्गेना र संरक्षण गर्ने उद्देश्यले पालिकास्तरीय झाँकी प्रदर्शनीसमेत आयोजना गरिएको छ । जसमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु ४० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने बताइन्छ ।

त्यसैगरी पालिकाभित्रको मौलिककला र संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘रुपा डान्स आइडल २०७६’ को आयोजना गर्ने भएको छ । बिहीबारदेखि गाउँपालिकाको थुम्की, भिरचोक र देउरालीमा आइडलको अडिसन चरणबाट फाइनलका लागि प्रतिस्पर्धी छनोट गरेर फागुन २७ गते फाइनल आयोजना गरिने तय गरिएको छ । डान्स आइडलको विजेता रु ३० हजार तथा ट्रफी प्राप्त गर्नेछन् भने द्धितीय, तृतीय तथा उत्कृष्टले क्रमशः रु २०, १० र पाँच हजार पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिृकत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष ओझाले ‘रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान’ का नाराका साथ पर्यटन विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, सिँचाइ, कृषि, पशुपालन र रोजगारी विकासलाई प्राथमिकता दिएर काम अघि बढाइएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्