Logo

कर्णालीमा कुष्ठरोगका ८९ बिरामी फेला



सुर्खेत, २ फागुन  : आर्थिक वर्ष २०७५-७६ मा कर्णाली प्रदेशमा कुष्ठरोगका ८९ नयाँ बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार अघिल्लो वर्षको भन्दा गत आव २०७५-७६ मा कम नयाँ बिरामी फेला परेका हुन् । निर्देशनालयले सुर्खेतमा २२ ,जाजरकोटमा १९, जुम्लामा पाँच, हुम्लामा दुई, डोल्पामा दुई जना फेला परेका जनाएको छ । त्यस्तै, दैलेखमा नौ, कालीकोटमा सात, मुगुमा पाँच, रुकुम पश्चिममा सात, सल्यानमा ११ गरी प्रदेशभर ८९ नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् ।

स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले कुष्ठरोग वर्षेनि न्यूनीकरण हुँदै गए पनि निर्मूल हुन नसकेको बताए । यसले छाला र नशामा असर गर्ने भएकाले सतर्कता अपनाउन उनको सुझाव छ । गाउँघरमा अझै पनि कुष्ठरोगको लक्षण देखिएमा लुकाउने प्रवृत्ति रहेको भन्दै निर्देशक जोशीले नियमित र समयमै औषधि सेवन गरे निराकरण हुने बताए ।

साइनिङ अस्पताल, सुर्खेतका प्रमुख मङ्गल चौधरीले कर्णालीमा कुष्ठरोग निराकरण सकारात्मक गतिले अघि बढेको बताए । अस्पतालले कर्णालीका कुष्ठरोगका बिरामीको निःशुल्क उपचार गर्दै आइरहेको छ । आइएनएफले मुलुकभर तीन हजार २८२ नयाँ कुष्ठरोगका बिरामी फेला परेकामध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा एक हजार ४८४ थपिएका जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम