Logo

दक्षिण कोरिया र जापानका विदेश मन्त्रीबीच वार्ताको तयारी



२ फागुन । जापान र दक्षिण कोरियाका वरिष्ट कूटनीतिज्ञहरुले यसै साता जर्मनीको म्युनिखमा द्विपक्षीय भेटवार्ता गर्न लागेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ । म्युनिखमा हुने तीन दिवसीय म्युनिख सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी विदेश मन्त्रीका साथ त्रिपक्षीय भेटवार्ता पनि हुन लागेको मन्त्रालयले बताएको छ ।

कोरियाली विदेश मन्त्री काङ क्यूङ–ह्वाले आफ्ना जापानी समकक्षी तोसिमिचु मोटेगीसँग शनिबार बिहान भेटवार्ता गर्नु हुनेछ । त्यसै दिन दुबै मुलुकका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग सामूहिक भेटघाट गर्ने कार्यक्रम छ । उक्त भेटमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण तथा मध्यपूर्व मामिलाका विषयमा छलफल हुने बताइएको छ ।

काङ, पोम्पेओ र मोटेगीबीच गत महिना अमेरिकाको सान फ्रान्सिस्कोमा त्रिपक्षीय भेटवार्ता भएको थियो । काङ र पोम्पेओबीच पनि म्युनिखमा अलग्गै द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ, तर त्यस्तो बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन ।

जापानी विदेश मन्त्री मोटेगीसँगको भेटवार्तामा कोरियाली विदेश मन्त्री काङले कोरियामाथि जापानले लगाइरहेको निर्यात प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

जापान र कोरियाबीच पछिल्लो समय दोस्रो विश्वयुद्धको समयका कोरियाली युद्धबन्दीका साथै सैनिक गुप्तचरी सूचना आदानप्रदानका विषयमा विवाद उत्पन्न भएको छ । यिनै विषयले दुई मुलुकबीच उच्च प्रविधिका सामानको आयात निर्यातमा समस्या चुलिएको छ ।

उक्त द्विपक्षीय भेटवार्ताका क्रममा चीनबाट फैलिएको कोरोना भाइरस र त्यसको असरका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ । चीनबाट फैलिएको कोरोना भाइरसबाट कोरिया र जापानलाई पनि प्रभावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्