Logo

व्यास नगरपालिकामा ५८५ योजना कार्यान्वयनमा



दमौली, २ फागुन : तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६-७७ मा ५८५ योजना कार्यान्वयनमा ल्याएको छ । नगरस्तरीय ७०, वडास्तरीय ३३७, क्रमागत १०० र विविध फुटकर योजना ७८ गरी कूल ५८५ योजना कार्यान्वयनको चरणमा रहेको व्यास नगरपालिकाले जनाएको छ ।

वडागत योजनामध्ये २६ योजनाको कार्यसम्पन्न भएको, १५५ सम्झौता भइसकेको र १५६ योजना सम्झौताको चरणमा रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरस्तरीय ७० योजनामध्ये २५ बोलपत्र प्रक्रिया पूरा गरिएको, सात योजना बोलपत्र भइरहेको, १३ योजना उपभोक्तासँग सम्झौता भएको र बाँकी योजना लगत अनुमान भइरहेको न्यौपानेले बताए ।

नगरस्तरीय कूल ७० योजनामध्ये ३६ वटाको सम्झौता भएको छ भने दुई वटा योजना सम्पन्न भएका छन् । त्यस्तै २५ योजनाको ठेक्का सम्झौता, सात योजनाको ठेक्का सूचना प्रकाशित भएको र १३ वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । त्यस्तै क्रमागत १०० योजनामध्ये ६९ योजना सम्पन्न भएका छन् भने ३१ कार्यान्वयनको चरणमा रहेका छन् । विविध फुटकर ७८ योजनामध्ये १५ योजना सम्पन्न भएको तथा २५ योजनाको सम्झौता गरिएको छ भने ३८ योजना अधुरा छन् ।

नगरप्रमुख न्यौपानेले गत वर्ष रु छ करोड ५० लाखभन्दा बढीको क्रमागत योजना रहेको र क्रमागत योजनालाई न्यूनीकरण गर्न चालू आर्थिक वर्षमा रु २० लाखभन्दा कमका योजना यसै वर्ष सम्पन्न गरिने र सम्पन्न हुन नसकेमा योजनाको रकम फ्रिज हुने नीति लिइएको जानकारी दिए ।

न्यौपानेका अनुसार केशवटारमार्ग, छाब्दीमार्ग, छिर्कने कर्लुङमार्ग, खड्गकालीमार्ग, पराशरमार्ग, कलेस्तीमार्ग, क्यामिन पर्यटनमार्ग, कालिकामार्ग, माहेन्द्रीमार्ग र वैरेनी नयाँबस्ती मार्गको बोलपत्र प्रक्रिया सम्पन्न भई कालोपत्र निर्माण गर्ने कार्य भइरहेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा विकास बजेटतर्फ रु ६० करोड १६ लाख ४६ हजार विनियोजन गरेकामा पुस मसान्तसम्म रु १० करोड ९२ लाख ७७ हजार २५३ खर्च भएको जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्