Logo

के लासमाथि कसैले बलात्कार गर्छ ?



दीपेश केसी: ‘के लासमाथि कसैले बलात्कार गर्छ ?’ पंक्तिकारले सानेपा हत्याकाण्डबारे घटनाको अनुसन्धान गरिरहेका एकजना अनुसन्धानकर्तासँग के कतिपय मिडियामा आएजस्तो हत्या गरिएकी मुना कार्कीमाथि यौन दुव्र्यवहार भएको हो ? भनी प्रश्न सोध्दाको प्रतिप्रश्न हो यो ।

पंक्तिकारले अपराधबारेको अध्ययनका सिलसिलामा लासमाथि पनि बलात्कार भएको घटना सुनेको र तथ्यसहित सूचना पाएको छ । लासमाथि पनि बलात्कार गर्नेहरु सँसारमा नभएका होइनन् । तर, विरलै हुन्छन् । तर, यसपटक सानेपा हत्याकाण्डको रिर्पोटिङ र समाचार प्रस्तुतीमा कतिपय जिम्मेवार भनिएका मिडियाले अपराध जस्तो संवेदनशील विषयमा अनुमान पत्रकारिता गरेर लासमाथि बलात्कार भएको जसरी लेखन कलालाई दुरुपयोग गरे । यसले क्षणभर ती मिडियामा धेरैको ध्यानाकर्षण भयो । घटनाबारे मानिसको विचार निर्माण हुने अवस्था सृजना गर्यो । तर, घटनाका पीडितका परिवारले मान्छे मरेको पीडाभन्दा समाचारको अक्षरबाट बढी पीडा पाए । अब यो गम्भीरतालाई मनन गर्ने कि नगर्ने ?


अहिलेसम्म सानेपा हत्याकाण्डबारे प्रहरीले ‘सीसीटीभी-फुटेज’ र पोष्टमार्टम रिपोर्टका आधारमा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीमाथि आक्रमण गरी उनकै घरका कामदार विजय चौधरीले हत्या गरेको जानकारी दिएको छ । घटनाका अनुसन्धानकर्ता महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले मुनाको घाँटी कसेर हत्या भएको र विजय चौधरीको आत्महत्याबाट मृत्यु भएको पुष्टि गरेका छन् । विजयले मुनाको किन हत्या गरे भन्ने कारणबारे भने प्रहरी अझै अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा यौन दुव्र्यवहारको कुनै संकेत सम्म नमिलेको खुलाएको छ । फोरेन्सिक जाँचको रिपोर्ट आउन बाँकी छ र पोष्टमार्टम रिपोर्ट आइसक्दा डिएसपी तामाङले दुव्र्यवहारको कुनै संकेत सम्म नपाइएको प्रष्ट पारेका छन् ।

घटनाको अनुसन्धान र प्रमाणहरुबाट यौन दुव्र्यवहारको कुनै तथ्य प्रमाणहरु फेला नपरेपनि सानेपा हत्याकाण्डबारे जसरी समाचार पस्कने काम भयो त्यसले अपराधमा जिम्मेवार पत्रकारिताको अभाव तड्कारो देखाएको छ । अपराधमा यौनको विषय जोडिएपछि समाचारप्रति आकर्षण पक्कै बढ्छ । तर, क्षणिक लाभका लागि जब जिम्मेवार भनिएका मिडियाबाट बलात्कार या यौन दुव्र्यवहारको आशंकासहितका समाचारहरु प्रकाशमा ल्याए त्यसले पीडित परिवारलाई पुगेको चोटको क्षतिपूर्ति हुन कठिन होला । अनुसन्धान अधिकृतहरुले समेत केही मिडियाको प्रस्तुतीले मन दुखेको भने । क्रुर घटना समेत हेरेर अनुसन्धान गर्ने प्रहरीको समेत मन दुखेको छ भन्छ भने पीडित मुना कार्कीको परिवारको मन कति दुखेको होला ?

अपराधजस्तो संवेदनशील विषयमा शंका र उपशंका, अनुमानको भरमा एउटी मृतक महिलाको परिवारमाथि ठेस पुग्ने गरी जसरी समाचार प्रकाशमा आएका छन् त्यसले बजारमा हल्ला, अनुमान, आशंका र भ्रमहरु फैलिएका छन् । चीया पसलमा मृतक महिलाको चरित्रबारे चर्चा चल्न थालेको छ । उनको परिवारसँग जोडेर अनेकन चर्चा हुन थालेको छ । लासको समेत लाज ढाँक्ने हाम्रो परम्परागत मूल्य र मान्यता विपरित झनै धज्जी उडाउने गरी केही कलमहरु मिडियामा केरमेर हुनथालेका छन् ।

अपराधमा जब यौन जोडिन्छ तब यसमा धेरैको चासो हुन्छ । समाचार प्रायःले नपढी छाड्दैनन् । यति भन्दैमा हामीले कतै विवेक त गुमाइरहेका छैनौं ? बढी पाठक बढाउने र त्यसबाट क्षणिक लाभ लिन अपराध समाचार लेखनमा विकृती त बढाइरहेका छैनौं । यसमा गम्भीर हुन जरुरी छ । अपराध यस्तो घटना हो यो भोलि जो कसैमाथि या जो कसैबाट घट्न सक्छ । अहिले त अर्जुन कार्कीको परिवारलाई परेको छ । मुना कार्की मारिएकी छिन् । भोलि जो कसैलाई पर्न सक्छ । त्यतिबेला यसरी नै अनुमान र आशंकाका हल्लाहरुले बजार पिटिंदा मृतक भन्दा पनि बाँच्नेहरु पलपल मर्नुपर्ने अवस्था आउन सक्छ ।

खुलस्त भन्नुपर्दा अहिले बजारमा चलेको हल्लामध्ये मुना कार्कीको चरित्र कस्तो हो ? कतै उनी बलात्कृत भएपछि त मारिएकी होइनन् ? उनको कसैसँग सम्बन्ध त थिएन ? यी यावत् प्रश्नहरुको उत्तर बजारले खोजिरहेको छ । यी प्रश्नहरु बजारले खोज्नुमा मिडिया उत्तिकै जिम्मेवार छ । यतिसम्मकी अनुसन्धानरत प्रहरीहरु नै बजारका हल्ला सुनेर चकित खाएका छन् । त्यसैले होला एकजना अनुसन्धान अधिकृतले भने के मरेको लासमाथि बलात्कार गर्यो होला ?

सीसीटीभी फुटेजमा मुनामाथि विजयले डोरीले पछाडिबाट घाँटी कसेको देखिएको खुलेको छ । तर, भुईँको दृश्य सीसीटीभीले खिच्न भ्याएको छैन । मुना बाँच्न संघर्ष गरेको र विजयले एकोहोरो घाँटी अठ्याएर ढलेपछि पिर्का उचालेर हानेको सम्म देखिएको समेत खुलेको छ । त्यतिबेलासम्म मुनाको मृत्यु भइसकेको अनुसन्धानबाट पत्ता लागेको छ । यद्यपि, उनलाई सानेपास्थित् स्टार अस्पतालमा मृत घोषित गरिएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा घटनास्थलमा भेटिएको कागजको टुक्रा सम्म नछाडी फोरेन्सिक जाँचका लागि पठाएको बुझिन्छ । मृतक दुवैको पोशाक पनि फोरेन्सिक जाँचका लागि पठाइएको छ । अनुसन्धानमा संलग्न प्रहरीले घटना किन घट्यो र के कारणले घट्यो भन्ने ९९ प्रतिशत रिपोर्ट आइसकेको र केही आशंका समेत नराख्ने गरी दसीप्रमाण र तथ्यहरु तयार गर्न बाँकी काम गरिरहेको बताएका छन् । तर, अनुसन्धान गरिरहँदा बाहिरी बजार हल्लाले अनुसन्धानकर्तालाई समेत केही समस्यामा पारेको देखिएको छ । तर, अनुसन्धानकर्ताले बजार हल्लाको आधारमा र त्यसैलाई सुनेर रौसिने कार्य गरे अर्को दुर्घटना निम्तन सक्छ । यो अनुसन्धानकर्ताको पाटो हो । अनुसन्धानकर्ताहरुले भ्रमहरु र गलत हल्लाहरु तत्काल फैलन नदिन मिडियासम्म सही समयमा सही तरिकाले प्रस्तुत हुनमा समेत कमजोरी देखिएको छ ।

सानेपा हत्याकाण्डमा जे जसरी गलत हल्लाहरु फैलाउन मिडिया जिम्मेवार भयो त्यसबाट बेलैमा पाठ सिक्न जरुरी छ । अपराध पत्रकारिताको संवेदनशीलतालाई बेलैमा मनन नगरे कलम बन्दुकमा रुपान्तरण हुनसक्छ जसले धेरै आत्माहरुको हत्या गर्छ । अपराधबाट पीडित परिवारको समेत पल पलमा हत्याको दोष खेप्न बाध्य हुन्छ । कलमबाट रगत होइन कलमबाट मसी खस्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्