Logo

‘स्पेसल एचिभमेन्ट अवार्ड’ विजेता घिमिरेलाई अमेरिकी दुतावासले भिसा दिएन



फागुन २, काठमाण्डौ । अन्तर्राष्ट्रिय पुरस्कार ‘स्पेसल एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित युवा अनुसन्धानकर्मी यादव घिमिरेलाई अमेरिकी दुतावासले भिसा नदिएपछि पुरस्कार ग्रहण कार्यक्रम धरापमा परेको छ ।

अवार्ड वितरण कार्यक्रम फागुन २४ गतेलाई लक्षित गरी घिमिरेले दुतावासबाट भिसा प्रक्रिया सुरु गरेका थिए । तर भिसा प्रक्रियामा दुतावासले विभिन्न बहाना बनाएको गुनासो घिमिरेले गरेका छन् ।

हालसम्म एसियाबाट उनीसमेत तीन जना सो पुरस्कारबाट सम्मानित भएका छन् । ‘स्पेसल एचिभमेन्ट अवार्ड’ लाटोकोसेरो तथा हुचिल अनुसन्धान र संरक्षणका लागि अमेरिकास्थित अन्तर्राष्ट्रिय लाटोकोसेरो केन्द्रले प्रदान गर्ने सम्मान हो ।

उक्त सम्मान ग्रहणका लागि अमेरिका जानुपर्ने भए पनि भिसा प्रक्रियामा दुतावासले आफुलाई विश्वास नगरेको भन्दै उनले फेसबुकमार्फत जानकारी गराएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्– ‘मलाई ७ वटा असान्दर्भिक प्रश्नहरू सोधियो र प्रति प्रश्नको मूल्य करिब रु ३००० हुन्छ । दूतावासका ती व्यक्तिले म फर्किन्न भनेर कसरी अनुमान गरे होलान ?’

उनले हालसम्म जर्मन, स्विट्जरल्याण्ड, बेलायत, भुटान आदि देशमा अध्ययन तथा अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागिता जनाइसकेका छन् । अहिले पनि सम्पूर्ण खर्च आयोजकले बेहोर्ने गरी उनलाई सम्मान दिन लागिएको थियो ।

उनले फेसबुकमा पोस्ट गरेलगत्तै धेरै अनुसन्धान तथा संरक्षणकर्मीले दूतावासको निर्णय जायज नभएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्