Logo

चीनबाट नेपालीको उद्धार, १७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए



काठमाडौं, ४ फागुन । कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तस्थित वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ।

चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ। वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। नेपाल फर्किन १ सय ८५ जनाले निवेदन दिए पनि ४ जनाले उतै बस्ने निर्णय गरेको र ६ जनालाई उच्चतापक्रम देखिएको भन्दै चिनियाँ अधिकारीहरूले विमानस्थलमै रोकेपछि नेपाल फर्किनेको संख्या १ सय ७५ मात्र भएको हो।

स्वदेश ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ । उद्धार गरिएकालाई मात्र होइन, उनीहरूको सम्पर्कमा आउने चिकित्सक, भान्से, सरसरफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई क्वारेन्टाइन क्षेत्रको कम्पाउन्डबाहिर जान नदिने बन्दोबस्त मिलाउन विशेषज्ञहरुले सुझाव दिएका छन् । फर्काइएकामध्ये एकजनामा मात्रै संक्रमण देखिए त्यसले महामारीको रूप लिन सक्ने भएकाले कसैलाई पनि घरपरिवार र समुदायको सम्पर्कमा पठाउन नहुने भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराए।

चीनबाट हालसालै नेपाल फर्केका चिकित्सक राजेन्द्र श्रेष्ठले नेपाल फर्काई क्वारेन्टाइनमा राखिएकामध्ये कसैमा संक्रमण देखिइहाले पनि त्यसबाट अन्य व्यक्ति तथा समुदाय प्रभावित नहोऊन् भनेर विशेष सतर्कता अपनाउनुपर्ने बताए। क्वारेन्टाइनमा १४ दिन राख्नुपर्ने भएकाले त्यति नै दिन त्यस क्षेत्रका कसैलाई भित्रबाहिर गर्न दिन नहुने उनको भनाइ छ। चीनबाट फर्काइएका नेपालीबाहेक उनीहरूका लागि खटिने छुट्टाछुट्टै चिकित्सक, भान्से, सुरक्षाकर्मीलगायतलाई पनि क्वारेन्टाइन क्षेत्रमै निगरानीमा राख्नुपर्नेमा उनले जोड दिए। उनका अनुसार क्वारेन्टाइनमा राखिएकाको दैनिक दुईपटक तापक्रप नाप्नुपर्छ। त्यसक्रममा केही खराबी देखिए तत्काल सतर्कताका साथ उपचारको बन्दोबस्त गरिहाल्नुपर्छ।

यसका साथै सकेसम्म शरीरका सबै अंग छोप्ने लुगा लगाउने, मास्क नछुटाउने, चस्मा प्रयोग गर्ने, खोक्दा/हाच्छ्युँ गर्दा अन्यत्र हावा नजाने तरिका अपनाउने, खाना खानुअघि र पछि तथा शौचालय प्रयोग गर्नुभन्दा अघि र पछि साबुनपानीले राम्ररी हात धुनुपर्नेलगायत सामान्य विषयमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्