Logo

चन्द्रागिरिमै ‘सगरमाथा संवाद’



काठमाडौँ, ५ फागुन । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन उल्लंघन गरी संरचना बनाएका कारण कारबाहीमा परेको चन्द्रगिरि हिल्स रिसोर्टमै सरकारले जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ गर्ने भएको छ ।

तीन दिने उक्त सम्मेलनको चैत २० मा सोल्टी होटलमा उद्घाटन गर्ने बाहेकका सबै कार्यक्रमहरू (पेलेनरी सेसन, अन्य प्यारलल सेसनहरू, समापन समारोह र आवास) उक्त रिसोर्टमै हुने परराष्ट्र्र मन्त्रालयमातहतको सगरमाथा संवाद सचिवालयको वेब पोर्टल (सगरमाथासंवाद डट ओआरजी) मा उल्लेख छ ।

कार्यक्रममा सार्क र बिमस्टेकसहित करिब दुई दर्जन मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री, राष्ट्रसंघीय निकायका प्रतिनिधिसहित ७० देशका करिब २ सय ५० प्रतिनिधि सहभागी हुने भनिएको छ । कार्यक्रममा शक्तिशाली तथा कार्बन उत्सर्जन दर उच्च रहेका अमेरिका र रुससहित जलवायु परिवर्तनको मुद्दामा अन्तर्राष्ट्रियस्तरमा प्रभाव पार्ने सूचीका ब्राजिल, फ्रान्स, डेनमार्क, जर्मनी, बेलायत, ब्राजिललगायत मुलुकका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।

सगरमाथा संवाद सचिवालयका प्रमुख सहसचिव कुमारराज खरेलले भने वेबसाइटमा राखिएका दुईवटै भेन्युको टुंगो लागिनसकेको बताए । ‘प्रस्तावका रूपमा ती दुई स्थान उल्लेख गरिएको हो, सम्झौता भइसकेको छैन,’ उनले भने, ‘१५ र २० दिनमा अन्तिम टुंगो लगाउँछौं ।’ उनले प्रस्ताव मात्र भने पनि कार्यक्रमका लागि बोलाइएका वक्ता, मोडरेटर र प्यानलिस्टलगायतको आवास र खानपिनको व्यवस्था चन्द्रागिरि रिसोर्टमै मिलाइएको बेवसाइटमा उल्लेख छ । खरेलका अनुसार कार्यक्रममा ६० जना विदेशी वक्ता हुनेछन् । अहिलेसम्म ३५ जनाको टुंगो लागिसकेको छ । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्