Logo

राजपा महाधिवेशनको मिति सरेको सर्‍यै



काठमाडौँ, ५ फागुन । मधेसकेन्द्रित ६ पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) ले महाधिवेशन गर्न नसकेर दुईपटक विधान संशोधन गरिसकेको छ । एकता महाधिवेशनका लागि तीनपटक तोकिएका मिति त्यत्तिकै गुज्रिएका छन् । अझै महाधिवेशन कहिले हुने भन्ने अन्योल छ ।

२०७४ वैशाख ७ मा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीबीच एकीकरण भएर राजपा बनेको थियो । अहिलेसम्म एकीकरणपूर्वका ६ पार्टीका अध्यक्ष रहेको अध्यक्षमण्डलले राजपा चलाइरहेको छ । अब हुने महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय गत वैशाख ११ मा सम्पन्न चारदिने पदाधिकारी समिति बैठकले गरेको थियो ।

एकतापछि निर्वाचन आयोगमा बुझाइएको विधानमा एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो । तर महाधिवेशनको मितिसमेत नतोकी त्यो समय सकियो । त्यसपछि २०७५ वैशाखमा अध्यक्षमण्डलले पार्टी एकीकरण भएको दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर आयोगलाई बुझायो । लगत्तै २०७६ वैशाख ७–९ मा महाधिवेशन गर्ने निर्णय गर्‍यो । त्यो मितिमा अधिवेशन हुन सकेन । २०७६ वैशाख ८–११ मा बसेको पदाधिकारी समिति बैठकले तेस्रोपटक विधान संशोधन गर्दै एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गरेर असार २९ मा निर्वाचन आयोगमा बुझायो । महाधिवेशनको मिति ०७६ कात्तिक २८ देखि ३० सम्म तोकियो । त्यो मिति पनि गुज्रिएको छ । अब असार मसान्तसम्म समय बाँकी भए पनि अहिलेसम्म सुरसार देखिएको छैन । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्