Logo

ओली-दाहालबीच तीन घण्टा वार्ता, सरकार ढाल्ने षड्यन्त्र परास्त गर्ने !



काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । सोमबार विहानै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर गम्भिर छलफल गरेको स्रोतको दाबी छ । हिजोमात्रै गृहजिल्ला पुगेर प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढाल्ने षड्यन्त्र भएको बताएका थिए । उनले सरकार ढाल्ने षड्यन्त्र भैरहेको बताएकै भोलिपल्ट आज अर्का अध्यक्ष दाहालसँग बालुवाटारमा तीन घण्टा लामो छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विकासको रफ्तार रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने षड्यन्त्र भएको भनेर झापामा बोलेको थिए । तर, उनको सरकार कसले ढाल्न खोजेको हो ? भनेर उनले केही पनि खुलाएका थिएनन् । उनले भनेका थिए,‘वर्तमान सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेका छन् । मुलुकको विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने क्रियाकलापजारी रहेको छ ।’

आज भएको अध्यक्षद्धयबीचको छलफलमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई बालुवाटारमा निरन्तर डाकिरहेका छन् । उनीहरुबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी हुने गरेको छ ।
नेकपा नेतृत्वको वर्तमान सरकार ढाल्न खोज्ने षड्यन्त्रलाई परास्त गर्ने उनीहरुको निश्कर्ष रहेको पनि स्रोतको दाबी छ ।

अध्यक्ष दाहालले ५ वर्षकै लागि केपी ओली प्रधानमन्त्री भएको कुरा पटक पटक दोहोर्याउँदै आएका छन् । हिजोमात्रे पनि प्रदेश नम्बर ५ को पार्टी भेलालाई सम्बोधन गर्दै उनले आफूलाई प्रधानमन्त्री हुने कुनै रहर नभएको स्पष्ट पारेका थिए । पछिल्लो समय अध्यक्ष दाहालले मुलुकमा स्थायित्व हाँसिल भएको भन्दै अब सरकारले जनतालाई राहत महशुस हुनेगरि विकास र समृद्धि दिनुपर्ने बताउँदै आएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्