Logo

एमसीसी रोक्नु राष्ट्रिय स्वाधिनताको रक्षा : कृष्णबहादुर महरा !



फागुन ५, काठमाण्डौ । अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महराद्वाराले धन्यवाद ज्ञापन गर्दै विज्ञप्ति जारी गरेका छन् । महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको भन्दै सम्मानित अदालतले निर्दोष ठहर गरेकोमा धन्यवाद दिएका छन् ।

‘म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’ महराको विज्ञप्तिमा भनिएको छ ।

३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको गुनासो गर्दै महराले काराकार बसाई अवधिमा सद्भाव र सहानुभूति दिने समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुप्रति आभार प्रकट गरेका छन् ।

महराले घुमाउरो भाषामा आफूले संसदमा एमसीसी प्रस्तुत नगर्नु सही भएको आशय व्यक्त गरेका छन् । महराले एमसीसी रोकेर मुलुकको स्वाधिनताको रक्षा गरेको आशय व्यक्त गरेका छन् । ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।’ महराले भनेका छन् ।

कृष्णबहादुर महराको विज्ञप्ति जस्ताको तस्तै

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु। यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु। म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु।

यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु। एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।

धन्यवाद ! २०७६ फागुन ५ कृष्ण बहादुर महरा प्रतिनिधि सभा सदस्य, दाङ–२



प्रतिक्रिया दिनुहोस्