Logo

कारागारबाहिर महरा जिन्दावाद, एमसीसी मुर्दावाद, प्रचण्डको फोन (भिडियोसहित)



फागुन ५, काठमाण्डौ । १ सय ३ दिन हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा आज रिहा भएका छन् । बलात्कारको आरोपमा पक्राउ परेका महराले सफाइ पाएसँगै रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । उनी असोज १९ गते पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो । प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन् । यो घटना १३ असोजमा बाहिर आयो ।

‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकारलाई भनेकी थिइन् । त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो । महराले आफूलाई बलात्कार गर्न खोजेको, नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी थिइन् । त्यसबेला महरा र उनको सचिवालयले आरोप अस्वीकार गरेको थियो ।

महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए । तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् । उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा उनले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् । पीडित भनिएकी महिलाले अदालतमा पनि बलात्कार प्रयास नभएको बयान दिएकी थिइन् ।

तर उपलब्ध प्रमाणका आधारमा महरालाई कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालतमा पुगे, उच्चले जिल्लाको आदेश सदर र्गयो तर, मुद्दाको अन्तिम फैसला छिटो गर्न आदेश दियो । त्यसअनुसार सुरू भएको बहस आइतबार नै सकिएको थियो ।

रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो । महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए । जिल्ला अदालत काठमाडौँको आदेशसँगै महरा रिहा भएका छन् ।

डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

डिल्लीबजार कारागारबाट रिहा भएपछि उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे । महराले सफाइ पाएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरू डिल्लीबजार कारागार पुगेर खादा फूलगुच्छा लिएर स्वागत गरेका थिए । उनीहरूले महराको पक्षमा नारासमेत लगाएका थिए ।

त्यसैगरी महरा डिल्लीबजार कारागारबाट छुट्दा अमेरिकी सहयोग नियोग एमसीसीविरुद्ध नारा लागेको थियो । कारागारबाहिर ठूलो संख्यामा भेला भएका महराका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका हुन् । केही समयअघि एक अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सभामुख महराले एमसीसी परियोजना संसदमा अघि नबढाएको भन्दै असन्तुष्टि राखेका थिए ।

कारागारबाट रिहा हुँदा उनलाई स्वागत गर्न दुई बुहारी, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हिमाल शर्मा र कार्यकर्ता पुगेका थिए । रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे । साथै उनले आफू निर्दोष भएको बताए । अरु विषयमा पछि बोल्ने महराले बताए ।

महरा रिहा भएलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।

यसैबीच महरामाथि बलात्कार उद्योगको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी शाहीले महरालाई सफाइ दिने अदालतको फैसलाको स्वागत गरेकी छन् । उनले आफूले मानसिक सन्तुलन गुमाएका बेला महरामाथि सो आरोप लगाए पनि त्यसयता लगातार घटना होइन भनेर बयान दिएको बताएकी छिन् ।

https://www.youtube.com/watch?v=UIKFz8Uypb8&feature=youtu.be



प्रतिक्रिया दिनुहोस्