Logo

‘बाँकी कुरा पछि भन्छु’



काठमाडौँ, ६ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै उनका सहयोगी र शुभेच्छुकहरू डिल्लीबजार कारागारबाहिर भेला भइसकेका थिए । सत्तारूढ नेकपाका हिमाल शर्मालगायत नेता–कार्यकर्ता महरालाई स्वागत गर्न फूलमालासहित पुगेका थिए ।

सफाइ पाएका महरालाई करिब ३ बजेतिर अदालतबाट सिधै कारागारको ‘क’ ब्लकमा लगियो । त्यहीं रहेका पूर्वआईजीपी रमेश चन्द ठकुरी, सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालगायतले ‘बधाई छ हजुर’ भन्दै उनलाई स्वागत गरे । चन्द सुडान घोटाला प्रकरणमा र पूर्वडीआईजी कोइराला पत्नी गीता ढकालको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका छन् । करिब ५० जना अट्ने ‘क’ ब्लकको हलमा चन्द र कोइरालासँगै महरा १३३ दिन बसेका थिए । दुवै पूर्वप्रहरी अधिकृत उनका रुम पार्टनर थिए । कैदीबन्दीले सोमबार ‘पहिलो पटक महरालाई मुस्कुराएको देखेको’ भन्दै मुखामुख पनि गरे । कहिलेकाहीँ मात्रै घरबाट ल्याएको खाना खाएका महराले यो अवधिमा अधिकांश समय कैदीबन्दीबाट सञ्चालित मेसमा खाना खाएका थिए ।

आफूलाई खाना खुवाउनेदेखि भेटिएका सबैप्रति उनले छुट्ने बेला सहानुभूति देखाए । महराले ‘यो अवधिको बसाइ अविष्मरणीय रह्यो, तपाईंहरूले गर्नुभएको सहयोग र मप्रति देखाउनुभएको सद्भावप्रति धन्यवाद दिन चाहन्छु’ भने । त्यति भनिसकेपछि पूर्वआईजीपी चन्द र पूर्वडीआईजी कोइरालाले खादा ओढाएर बिदाइ गरे । जेलमा ल्याउँदा पनि चन्दले उनलाई स्वागत गरेका थिए । २०६८ जेठ १८ मा आईजीपी चन्दलाई जिम्मेवारीबाट मुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा ल्याउने प्रस्ताव उनै महराले गरेका थिए । त्यसमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सहमति जनाएका थिए । प्रधानमन्त्री खनाल र गृहमन्त्री महराको सल्लाहमा चन्दलाई आईजीपीबाट हटाइएको थियो । एक कर्मचारीका अनुसार घर जानुअघि महरा निकै खुसी देखिएका थिए ।

अदालतले सफाइ दिएपछि उनलाई जेलर अरुण पोखरेलको कार्यकक्षमा लगियो । जहाँ कान्छा छोरा राहुल महरा पर्खिरहेका थिए । जेल प्रशासनमा उनलाई छुटाउने प्रक्रिया चलिरहँदा बाहिर उनको समर्थनमा ठूलो भीड जम्मा भइसकेको थियो । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्