Logo

महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा



काठमाडौं, फागुन ६ । बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएका छन् । अभियोग नपुगेको भन्दै न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार उनलाई सफाइ दिएको हो । पीडित भनिएकी महिला कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास नभएको जिकिरसहित अदालतमा गरेको वकपत्र, महराले दिएको इन्कारी बयान र फरेन्सिक ल्याबको रिपोर्टलाई आधारमा उनी डिल्लीबजार कारागारबाट खुमलटार निवास फर्किएका छन् ।

गत असोजमा रोशनीले महराविरुद्ध बोलेको भिडियो सार्वजनिक भएपछि सत्तारुढ नेकपा सचिवालयले सभामुख र सांसद पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको सुझाव अनुसार त्यही दिन साँझ उनले राजीनामा दिएका थिए । तर, उक्त समय उनको राजीनामा पत्रमा उल्लेखित भाषा विवादित समेत बनेको थियो । राजीनामा पत्रमा महराले ‘छानबिन प्रक्रिया नसकिँदासम्म नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका थिए ।

‘हिजो १३ असोज २०७६ देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’ महराले हस्ताक्षर गरेको राजीनामा पत्रमा उल्लेख थियो ।

अहिले उनीमाथिको अनुसन्धान त सकियो तर संसदमा सभामुखको रुपमा अग्निप्रसाद सापकोटा निर्वाचित भइसकेका छन् । संयोगले महरा सभामुख हुँदा उप–सभामुख रहेकी शिवमाया तुम्बाहाम्फेले महरा जेल मुक्त भएकै दिन कानुनमन्त्रीको शपथ लिएकी छन् । तुम्बाहाम्फे प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा कानुनमन्त्री बनेकी हुँन् । उनले गत माघ ६ गते उप–सभाम्खबाट राजिनामा दिएकी थिइन् ।

सोमबार अदालतले सफाइ दिएसँगै महरालाई संसद् प्रवेशको बाटो खुला भएको छ । अव उनले हालसम्म रोकिदै आएको सुविधा सहित सदनको कामकारबाहीमा भाग लिन पाउने भएका छन् । आफुलाई षड्यन्त्र गरी फसाइएको बताउदै उनले सुनियोजित षड्यन्त्रको बिस्तारै पर्दाफास गर्दै जाने बताएका छन्। उनको पत्रको भाषालाई लिएर अहिले केहिले समाजिक सञ्जालमा समेत उनको अवको यात्राबारे चासो राखेका छन् । तर, महराले भने षड्यन्त्रको भन्डाफोर गर्ने बताएपनि पत्रको बारेमा भने केहि बोलेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्