Logo

बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक



काठमाडौँ, ६ फागुन । प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएकाले होमस्टे खुल्ने क्रम बढेको होमस्टे एसोसिएसनले जनाएको छ ।

होमस्टे एसोसिएसन प्रदेश ५ का सचिव कृष्णलाल चौधरीका अनुसार होमस्टेप्रति पर्यटकको आकर्षण देखेर प्रदेशमा होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । हाल प्रदेश ५ मा ४५ वटा होमस्टे सञ्चालनमा छन् । तीमध्ये ३२ वटा सामुदायिक र १३ वटा निजी होमस्टे रहेको जनाउँदै सचिव चौधरीले तिनमा करिब तीन सय परिवारले प्रत्यक्ष रोजगारी पाएको बताएका छन् ।  सचिव चौधरीका अनुसार बर्दियामा छ सामुदायिक र दुई निजी, बाँकेमा तीन सामुदायिक र चार निजी, दाङमा आठ सामुदायिक, प्यूठानमा चार सामुदायिक, गुल्मीमा चार सामुदायिक, पाल्पामा चार सामुदायिक र पाँच निजी, रोल्पामा दुई सामुदायिक, कपलिवस्तुमा एक सामुदायिक, रुकुम र रुपन्देहीमा एक/एक निजी होमस्टे सञ्चालनमा रहेका छन् । सामुदायिक होमस्टे चलाउन कम्तीमा पाँच घर मिल्नुपर्ने व्यवस्था छ ।

ती होमस्टेहरूले वर्षमा ६० हजार पर्यटकलाई सेवा दिँदै आएको जनाउँदै चौधरीले नेपाल भ्रमण वर्ष मनाइरहेको हुँदा यस वर्ष करिब ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन् ।  बाँके, बर्दिया र पाल्पा जिल्लामा व्यवस्थित होमस्टे सञ्चालनमा रहेको होमस्टे एसोसिएसनले जनाएको छ । सरकारले पर्यटनका लागि घोषणा गरेका सय गन्तव्य क्षेत्रमा यी जिल्लाका होमस्टे समेटिएका छन् । सरकारले सन् २०११ मा कार्यविधि बनाएपछि नेपालमा होमस्टे सञ्चालनमा आएको जानकारी गराउँदै सचिव चौधरीले कार्यविधिमा होमस्टेलाई जीविकोपार्जनको माध्यम भनिएको बताए । तर होमस्टेलाई जीविकोपार्जनका रूपमा नभई आयआर्जनको माध्यमका रूपमा अघि सार्नुपर्ने लबिङ आफूहरूले सुरु गरेको चौधरीको भनाइ छ ।

स्थानीय संस्कृति र प्रकृतिको आनन्द लिन पर्यटक होमस्टेमा जाने गरेका छन् । होमस्टेहरूले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जङ्गल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैली र सङ्ग्रहालयको अवलोकन गराउने गरेका छन् ।
बाँके र बर्दिया निकुञ्ज आसपासमा रहेका होमस्टेमा आउने पर्यटक जङ्गल सफारीमा गएर बाघ, हात्ती, गैँडा, चौकालगायत संरक्षित जनावर हेर्ने गर्छन् । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघ, हात्ती, चौका, हुँडार, सालक, नीलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदर, सुन गोहोरो, अजिङ्गर, राजधनेशलगायत विभिन्न किसिमका चरा हेर्न पाइन्छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्