Logo

गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा



फागुन ६, काठमाण्डौ । नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाप्रति संसदमा व्यंग्य गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वस्थानी व्रतकथाको शैलीमा पौडेलप्रति व्यंग्य गरेका हुन् ।

थापाको व्यङ्ग्यमा प्रधानमन्त्री केपी ओलीदेखि सरकारका प्रवक्ता गोकुल बास्कोटासम्म समेटिएका छन् । थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा ब्यंग्य गरे । थापाले भने ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए होइन होइन भन्नु र चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए चोरीको सामान फिर्ता गर्नू ।’

प्रतिनिधिसभामा गगन थापाको भनाई जस्ताको तस्तै :

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् । इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नमः ।
धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्