Logo

मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल



मकवानपुर, ६ फागुन । वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंलाई जोड्ने भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

मन्त्री फुयाँलले राससकर्मीसंँग कुरा गर्दै मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पारेको योजना पूरा गर्न आफू लागिपर्ने बताए । उनले प्रदेशका १३ ओटा जिल्लाका ११९ ओटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए ।

मन्त्री फुयाँलले भने–‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नेछु ।’ उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताए । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिबद्ध भएर अगाडि बढ्ने उल्लेख गरे । काठमाडौं जिल्ला क्षेत्र नम्बर–३ तथा प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वा्चित फुयाँल यसअघि संविधानसभा सदस्य थिए ।

नेकपा वाग्मती प्रदेशका प्रमुख सचेतकसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन् । वि.सं. २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य भएका थिए ।

वि.सं. २०६५ सालमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वा्चित भएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौंको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वा्चित भएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्