Logo

पूर्वराजा शाहसँग कमल थापाको सम्बन्ध किन बिग्रियो ?



काठमाडौं, ६ फागुन । राप्रपा अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बन्ध बिग्रिएको छ । यो कुरा स्वयम थापाले पनि संकेत गर्न थालेका छन् । पछिल्लो समय पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुँदा अध्यक्ष थापाले सार्वजनिक रुपमै आफ्नो पार्टीभित्र दरबारीयाहरुले खेल्न थालेको दुःखेसो पोख्ने गरेका छन् । उनले पार्टीभित्र खेल्ने दरबारीयाहरु भनेको को हो ? भनेर नाम त लिएनन् । तर, उनी र पूर्वराजा शाहबीच पनि पछिल्लो समय सम्बन्ध राम्रो नभएको स्रोतको दाबी छ ।

हुन त यसअघि पनि पूर्वराजा शाहसँग थापाको सम्बन्ध बिग्रिएको खबर आईरहेका थिए । राजसंस्था पूर्नस्थापनाको लागि अध्यक्ष थापाले गम्भिर भूमिका निर्वाह नगरेको र आफूलाई धोका दिएको पूर्वराजाको गुनासो छ । संविधान जारी भएलगत्तै थापा आफैं सरकारमा सहभागी भए । उनको सत्तारोणलाई लिएर राजावादीहरुले नै चर्को आलोचना गरेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारमा अध्यक्ष थापा उपप्रधानमन्त्री बनेर सहभागी भएका थिए । सरकारमा सहभागी भएकै कारण २०७४ मा भएको निर्वाचनमा राप्रपाले नराम्रो पराजय व्यहोरेको थियो ।

थापा नेतृत्वको पार्टीले आफ्नो राजनीतिक सिद्धान्तमा नै राजसंस्थाको पूनर्वहालीलाई मुख्य मुद्दा बनाएको छ । तर, व्यवहारमा भने उक्त पार्टीले सोहीअनुसारको भूमिका निर्वाह नगरेको पूर्वराजा शाहको गुनासो छ । दशैं यता पूर्वराजा शाहसँग अध्यक्ष थापाले भेटवार्ता नगरेको स्रोतको दाबी छ । यता थापा पनि पार्टीलाई बलियो बनाउनको लागि आफू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) सँग एकताको लागि पर्खिएर बसेको बताउँछन् । उनले आफूले एकताको लागि जबरा र लोहनीको फोन कुरेको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्