Logo

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तयारी



काठमाडौं, ७ फागुन । भारतको नयाँदिल्लीमा १३ वर्षअघि प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले काम गर्न छाडिसकेको छ। प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले फ्याक्न थालेपछि ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका छन् ।

धापासीस्थित ग्राण्डी अस्पतालमा डायलाइसिस गराएका ओलीले पछिल्लो समय हरेक शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गराइरहेका छन्। तर यो कार्यले लामो समय मिर्गौलालाई बचाइराख्न असम्भव हुने भएपछि प्रम ओलीको नयाँ मिर्गौला यही फागुन भित्र प्रत्यारोपण तयारी गरिएको छ। यही तयारी अनुसार जटिल अपरेशन अगाडि गरिने आवश्यक स्वास्थ्य तयारी पनि थालिएको छ। यही पूर्वतयारीस्वरुप मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ‌ओलीको मुटुको एन्जियोग्राफी गरिएको चिकित्सकहरुले दाबी गरेका छन्।

उनीहरुले ओलीको मुटुमा कुनै समस्या नभएको पनि जिकिर गरेका छन्। प्रधानमन्त्री ओली मुटु परीक्षणका लागि मंगलबार दिउँसो करीब साढे ४ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। मुटुको परीक्षणपछि ओली आजै राति बालुवाटार फर्किँदैछन्। ओलीका निजी चिकित्सक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले मिर्गौला प्रत्यारोपणका लागि पूर्वतयारीस्वरुप मुटुको परीक्षण गरिएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्