Logo

७० औं प्रजातन्त्र दिवस मनाइँदै



काठमाडौं, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस । आजभन्दा ७० वर्ष अघि २००७ सालमा एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो ।

प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र स्थापनाका लागि चार सहिद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ सालमा बलिदानी दिएका थिए । उनीहरुलाई राणा शासनविरुद्ध षड्यन्त्रको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

राणा शासन अन्तका लागि राजा त्रिभुवनले विशेष भूमिका खेलेका थिए । राणाहरुविरुद्ध नेपाली काँग्रेसले संघर्ष गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न प्रजातन्त्र दिवसले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । उनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा सबैलाई एकजुट हुन आग्रह गरेका छन् । उनले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिदै जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर अहिले मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्