Logo

सातै प्रदेशका मुख्यमन्त्रीको पद धरापमा



काठमाडौं, ७ फागुन । देशका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको पद धरापमा परेको छ । नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्धन्द्धका कारण छ वटा प्रदेशका मुख्यमन्त्रीहरुको पद धरापमा परेको हो । प्रदेश २ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको गठबन्धन पनि धरापमा परेपछि मुख्यमन्त्री लालबाबु राउतको पद संकटमा परेको हो ।

बागमती प्रदेशमा सबैभन्दा विवाद देखिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले रामेश्वर फुयाँललाई भौतिक पूर्वाधारमन्त्री बनाएपछि विवाद चुलिएको हो । नेकपाकी प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले यसप्रति तिव्र असन्तुष्टि जनाएकी छिन् । उनले अविश्वासको प्रस्ताव आउन सक्ने बताइसकेकी छिन् । मुख्यमन्त्री पौडेल अहिले अल्पमतमा परेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडा बनाउँदा देखि नै विवाद चुलिएको हो ।

प्रदेश एकमा पनि विवाद छ । नेकपाभित्रको आन्तरिक विवादले शेरधन राईविरुद्ध एउटा समूह नै सक्रिय भएको छ । प्रदेशमा भीम आचार्यलगायत नेताहरु राईविरुद्ध एकीकृत भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विवादमा परेका छन् । उनीमाथि कार्यकक्षमै मदिरा पान गरेको आरोप लागेको छ । यसबाहेक गुरुङले एकलौटी ढंगले काम गरिरहेको आरोप छ । उनीविरुद्ध किरण गुरुङलगायतका नेकपा नेता सक्रिय भएका छन् ।

प्रदेश ५ मा पनि विवाद छ । शंकर पोखरेल प्रदेशको नाम र राजधानी तोक्न सकिरहेका छैनन् । आन्तरिक विवादले त्यहाँ पनि अविश्वासको प्रस्ताव आउन सक्छ ।
कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही मजबुत छन् । तर, उनीविरुद्ध पूर्व एमालेहरु असन्तुष्ट छन् । सुदुरपश्चिम प्रदेशमा पनि विवाद चर्किंदै गएको छ । मुख्यमन्त्री त्रीलोचन भट्टप्रति असन्तुष्टि बढेको छ ।

नेकपाभित्रको आन्तरिक विवादले प्रदेशहरुमा समेत समस्या थपिदै गएको छ । यसले कुनैपनि बेला प्रदेशहरुमा अविश्वासको प्रस्तावको लहर चल्ने संकेत देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्