Logo

फस्टाउँदै हुन्डी कारोबार



काठमाडौँ, ७ फागुन । प्रहरी परिसर काठमाडौंले पुस अन्तिम साता सुन्धाराको होटल न्यु क्यासलमा काम गर्ने २५ वर्षीय सुरेश मल्ललाई पक्राउ गर्‍यो । ठगीसम्बन्धी कसुरको उजुरी परेपछि पक्राउ परेका उनको बैंक खाता अध्ययन गरेपछि प्रहरी चकित भयो । सामान्य हैसियतका होटल कर्मचारी मल्लको बैंक खाताबाट दुई वर्षमा मात्रै २० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।

अनुसन्धानमा संग्लन एक प्रहरी भन्छन्, ‘उनको खाताबाट भइरहेको कारोबारमा पर्दा पछाडि अरूको भूमिका छ छैन भन्ने खुलिसकेको छैन । तर अस्वाभाविक कारोबारको तार संगठित रूपमा भइरहेको मानव तस्करी र त्यस क्रममा हुने हुन्डी कारोबारसँग जोडिएको अनुमान गर्न सकिन्छ ।’ कुनै व्यापार र व्यवसायको पृष्ठभूमि नभएका मल्लको खातामा पैसा हाल्नेहरू को–को हुन् र कहाँबाट कुन प्रयोजनका निम्ति त्यत्तिका धेरै पैसा हालिएको हो भन्नेमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । मल्ल पक्राउको पृष्ठभूमिमा संगठित मानव तस्करीको एउटा घटना जोडिएको छ ।

बाँकेको सुनारी गाउँपालिका–३ का ३८ वर्षीय सर्जन केसी र रोल्पाको परिवर्तन गाउँपालिका–५ का ३८ वर्षीय बुद्धिप्रसाद घर्ती अमेरिका जान भन्दै २०७५ फागुन १३ गते मलेसियाको क्वालालम्पुर ट्रान्जिट बनाएर पर्यटक भिसामा इन्डोनेसियाको बाली पुगेका थिए । होटल तथा स्टोरमा काम लगाइदिने र मासिक ३ लाख रुपैयाँसम्म आम्दानी हुने आश्वासनका भरमा अमेरिका जान तयार भएका दुवैलाई एजेन्टले २७ लाख रुपैयाँ लाग्ने र आधा पैसा सुरुमै र आधा रकम इन्डोनेसिया पुगेपछि दिनुपर्ने सर्त राखेका थिए । उनीहरूलाई अमेरिका छिराउने जिम्मा लिएका एजेन्टले भोलिपल्टै सिंगापुर हुँदै अमेरिका लैजाने बताएपछि उनीहरू दुवैले एजेन्टले भनेकै मान्छेको हातमा नगदै १० लाख थमाइदिए । त्यसपछि एजेन्टले भनेअनुसार सुरुमा देवकोटाको खातामा दस लाख र मल्लको खातामा नौ लाख जम्मा गरिदिए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्