Logo

जनताले तिरेको कर जनप्रतिनिधिको खल्तीमा



काठमाडौं, ७ फागुन । दुई वर्षयता उपमेयरसहित २७ जना जनप्रतिनिधिले औषधि–उपचार खर्चको बिल पेस गरेर काठमाडौंं महानगरपालिकाबाट ५१ लाख ५८ हजार रुपैयाँ लिएका छन्। जसमध्ये एक वडाध्यक्ष र एक कार्यपालिका सदस्यलाई दुईपटक उपचार खर्च दिइएको छ।

२०७६ माघ २० मा काठमाडौं महानगरपालिकाको वित्त विभागबाट प्राप्त विवरण अनुसार महानगरका कर्मचारीले यस अवधिमा आठ लाख ५० हजार रुपैयाँ औषधि–उपचार खर्च बुझेका छन्। जनप्रतिनिधि र कर्मचारीसँग पहुँच भएकाले पनि यस अवधिमा आठ लाख ८२ हजार रुपैयाँ औषधि– उपचारका नाममा लिएका छन्। मेयर विद्यासुन्दर शाक्यले महानगरले बिरामी जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई स्थिति हेरेर औषधि–उपचार खर्च दिने गरेको स्वीकारे। मेयर शाक्य भन्छन्, ‘अस्पतालको बिलका आधारमा जनप्रतिनिधिलाई औषधि–उपचार खर्च दिँंदै आइरहेका छौं। बिरामी हुने जनप्रतिनिधिलाई उपचार खर्च दिने हो, अरूलाई होइन।’

आर्थिक वर्ष २०७४ र ७५ मा महानगरका ११ जना जनप्रतिनिधिलाई।१७ लाख ५४ हजार रुपैयाँ दिइयो। सोही वर्ष पाँचजना कर्मचारीलाई पाँच लाख रुपैयाँ स्वास्थ्य उपचार खर्च दिइएको थियो। त्यस्तै तीनजना सर्वसाधारणलाई ९५ हजार रुपैयाँ दिइएको थियो। उपचार खर्चको सबैभन्दा बढी लाभ जनप्रतिनिधि र कर्मचारीले लिएका छन्। सर्वसाधारणले भने नाम मात्रको उपचार खर्च पाएका छन्। महानगरपालिकाले बितेका दुई आर्थिक वर्षमा जनप्रतिनिधि, कर्मचारी र पहुँचवालालाई उपचार खर्चका नाममा ६८ लाख्र रुपैयाँ गैरकानुनी रुपमा वितरण गरेको छ।

चालु आर्थिक वर्षको सुरूदेखि माघसम्म बसेका कार्यपालिकाका विभिन्न बैठकले नौजना जनप्रतिनिधिलाई ।२१ लाख ९२ हजार औषधि–उपचार खर्च दिने निर्णय गरेको भेटियो। चालु आर्थिक वर्षमा कर्मचारीलाई औषधि–उपचार खर्च दिइएको छैन, बरु दुईजनालाई एक लाख १२ हजार रुपैयाँ दिइएको छ। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्