Logo

सुशासनका बाधक परिसूचकहरु



डा.कृष्ण कुमार तामाङ: भ्रष्टाचार शव्द जनजिब्रोमा जति बोलिने र सुनिने शायदै अरु कुनै होलान् । भूराजनीति, सामाजिक, आर्थिकदेखि पौराणिक लगायत बौद्धिक क्षेत्रहरुमा उत्तिकै जगजगी रहेको भ्रष्टचारका विविध आयाम तथा स्वरुपहरु छन् । समय सापेक्ष क्षेत्रहरुमा भाषागत भिन्नता बाहेक सर्वत्र एक समान व्याप्त यस व्याधिको फैलावट अकण्टक कालजयी रहेको छ । विश्वभर इतिहासका पानादेखि वर्तमान विभिन्न शासन प्रणलीमा यो सामाजिक रोग विरलै नियन्त्रित रहेको पाइन्छ । पद अनुरुप कार्य नगर्नु, अरुको हानीमा आफ्नो लाभ लिनु, सरकारी तथा सांगठनिक लक्ष्य भन्दा बाहिरका गतिविधिमा संलग्न हुनु, सेवाग्राहीबाट अतिरिक्त अनुचित फाइदा लिनु जस्ता परिभाषा अन्तर्गत भ्रष्टाचारका कति अविकसित तथा अदृश्य आवरणहरु सुशासनको अधोगतिका सूचक हुन् । बहुल दृष्टान्तहरु मध्ये नदेखिने नमुना लायक केही प्रासंगिक प्रकरणहरु हेरौं ।

दृष्टान्त एक ः वि.सं. २०७२ बैशाख १२ गतेको महाभूकम्प अघिल्लो दिन सेतो बाघ चर्चित राणाकालीन कथावस्तुमा आधारित नेपाली चलचित्रको अग्रिम बूकिङ गरी सिनेमा हलको टिकट लिएकाहरुले त्यस दिनको आकस्मिक विपदले अस्तव्यस्त र कोहरामले न जान सके न चलचित्र प्रदर्शन सम्भव थियोे । परन्तु केही समय पश्चात स्थिति सामान्य भएकोमा आफ्ना दर्शकहरुको लगानी भएको टिकटको चलचित्र देखाउने कुरो कतैबाट आएन । यसलाई कसरी परिभाषित गर्न सकिन्छ ? चलचित्र गृहको क्षति राज्यले वा बीमा कम्पनीले पूर्ति गर्ला नगर्ला भन्दा पनि टिकट खरिदकर्ताले बेहोर्न पर्ने कस्तो विडम्बना ।

दृष्टान्त दुई ः कुनै एक व्यक्तिले आर्थिक कारोबारको सिलसिलामा कसैलाई अमुक बैंकको रकम र मिति खुलाएर चेक दिएकोमा दोश्रो पक्ष अर्थात चेक लिने व्यक्तिले रकम बापतको शर्त पूरा नगरेको कारण चेकदाताले सम्बन्धित बैंकमा गएर विस्तृत विवरण खुलाई उक्त नम्बरको चेक रद्द गर्न निवेदन र दस्तुर समेत तिरेर सोको भर्पाइ लिन्छ । तर, केही समयको अन्तरालमा प्रहरी कार्यालयबाट चेक अनादर(बाउन्स) भएको र उल्लेखित रकम भुक्तानी नगरे कानुनी प्रक्रिया थालिने जानकारी गराइन्छ । चेकदाताले उक्त बेहोरा सम्बन्धित बैंक र उसको केन्द्यि कार्यालयमा बैंकले दिएको प्रामाणिक कागजात प्रस्तुत गर्दा बैंकले प्रहरीको थुनामा राखी कार्वाही गर्ने प्रक्रिया रोक्न नसकिने गैरजिम्मेवारी लाचारी दर्शाउँछ ।

चेक भुक्तानीको मिति अगावै चेक रद्दको निवेदन र दस्तुर लिएको प्रमाणित पत्र बैंकले दिन्छ तर चेकदाता भुक्तानी दिन बाध्य हुन्छ भनें बैंकले आफ्ना ग्राहक(क्लाइन्ट)बाट बिना सेवाको शुल्क लिनुलाई के भन्ने ? दिएको चेक बदर हुने प्रावधान नभए रद्दको निवेदन लिएर दस्तुरको शुल्क किन असुल्ने ? बैंकको प्रतिष्ठा र खातावालको बैकिङ विश्वाससंग निकृष्ट खेलवाडका यदाकदा घटनाहरु फाटफुट भई रहन्छन् । बीचरो पीडित सेवाग्रही न्यायका लागि थप झण्झटमा पर्नु भन्दा मौन बस्नु श्रेयष्कर विवशता ठान्छ ।

दृष्टान्त तीन ः नेपालीको गर्व धरहरा मार्फत सर्वसाधारण जनताबाट शुल्क लिएर पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र ऐतिहासिक धरोहरको परिचय गराउने तरिका सही अर्थमा पूर्ण सह्रानिय भन्न विचारणीय हुन सक्दछ । कारण, वि.सं. १८८२ सालमा निर्मित उक्त धरहराको निर्माणमा परम्परागत चून, सुर्की, मास, चाकुको मिश्रण आदि पुरातन अभ्यासका वस्तुहरु प्रयोग भएका थिए । वि.सं. १९९० माघ २ गतेको भूकम्पमा ध्वस्त भएको धरहरा पुनर्निर्माण गरिंदा पनि शुरुको धरहरा निर्माणमा जस्तै उही विगतको निर्माण सामग्रीहरु प्रयुक्त भए । सिमेण्ट र फलामे डण्डी आदि भरपर्दो सामग्री प्रयोग भएनन् यद्यपि सिमेण्टको आविष्कार वि.सं. १८८०मा भई सकेको थियो । काठमाडौं स्थित धरहरा मिति २०७२ बैशाख १२ गतेको भूकम्पको कारण ध्वस्त भएको दुखद घटना दोेश्रो पटक भएको थियो ।

खतराको पूर्वाभास हुँदाहुँदै जोखिमको आङ्कलन गर्न नसक्नु त्यस माथी विगतको गल्तिबाट पाठ सिकेर मजबुत र भूकम्प थेग्न सक्ने प्रविधि तथा स्टीलका खाका प्रयोग नगरेकैै कारण दृश्यावलोकन गर्न राज्यलाई शुल्क तिरेर गएकाहरुको असामयिक मृत्युको दोषी कसलाई मान्ने ? यसर्थ समग्रमा भूकम्प पीडितहरुलाई उपलव्ध गराइएका भन्दा धरहरामा परेकाहरु पृथक सहुलियतका हकदार होइनन् भन्नु यथोचित नहोला । ति मृतकका आश्रित वा अभिभावकहरुलाई कुनै राहतका योजनाले लाभान्वित गरिए वा मृतकहरुको सम्मानार्थ केही गरिए ओझेलमा छ ।

काठमाडौ ंभूकम्प जोखिम ग्रस्त रहेको तथ्य नेपाल सरकारबाटै सार्वजनिक सूचनामार्फत जानकारी गराइदैं आएको यथार्थ अद्यावधि जारी छ । राजनेताहरुको धरहराबाट दृश्यावलोकनले बृहत लोकचर्चा बटुलेर सर्वसाधारण जनतामा हौसला जागृत हुनु र अधिकाधिक संख्यामा विद्यार्थी लगायत उत्साही दर्शकहरु लर्को लागेर कमसल संरचनामा चढ्न जानुलाई प्रोत्साहन वा दुरुत्साहन कसरी लिन सकिन्छ, सोचनीय हुन आउँछ ।

निष्कर्ष ः धरहरा तेश्रोे पटक पुरानै स्थलमा जुरमुराएर उठदै छ, तथापि नवीन प्रविधि र भूकम्पको झट्का थेग्न अधिक टिकाउवान निर्माण सामग्री प्रयोग हुने निश्चितता दोधारमा परेको देखिन्छ । यदि विश्व सम्पदाको मापदण्ड विपरित आधुनिक सामग्री उपयोग गर्न वर्जित गरिने हो भनें सर्वसाधारणको जीउज्यान जोखिम हुने संरचनामा मनोञ्जनका लागि प्रवेश निषेध गरिनु पर्ने हुन्छ अन्यथा भत्किएर जाने संरचनालाई दुर्घटना झेल्न सक्ने बनाइनु पर्दछ र त्यसमा सवार हुने यात्रु दर्शकहरुको जीवनबीमा सेवा प्रदायकले अनिवार्य गरेको हुनु पर्दछ । यथास्थितिमा धरहरा भत्कने बनाउने इतिहासको पुनरावृत्ति हुनु अर्को शताब्दी कुर्न नपर्ने शंका पूर्ववत् रहन्छ । यस विषयमा सरोकार पक्षहरुको ध्यान नपुगे काठमाडौ उपत्यकाका आकाशे पुलहरु निमार्ण सम्पन्न गरे लगतै भत्काएर फेरी नयाँ बनाउनु ठेकेदार पोस्ने निरन्तरताको जस्तैे अर्को प्रहसन हुनेछ ।-सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (अवकाश प्राप्त)



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम