Logo

‘गोरखापत्र जनताको पत्रिका’



काठमाडौँ, ८ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर गोरखापत्रको पश्चिम क्षेत्र कोहलपुर संस्करण बुधबारबाट सुरु गरिएको छ । बाँकेको कोहलपुरमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पश्चिम संस्करणको शुभारम्भ गरेका छन् ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लाई लक्षित गरी कोहलपुरबाट गोरखापत्र दैनिक र दि राइजिङ नेपालको प्रकाशन सुरु गरिएको हो । यसअघि गएको संविधान दिवसको अवसर पारेर प्रदेश १ मा गोरखापत्रको विराटनगर संस्करण सुरु गरिएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “अब देश पछाडि फर्कन सक्दैन । हरेक दिन सरकार एक कदम अगाडि बढिरहेको छ ।” देशमा केही पनि भएन भन्ने रोगले एकथरिलाई सताइरहेको भन्दै उनले आफ्नो पालामा केही गर्न नसकेर फेरि फर्कन नपाउने पीरले निराश भएकाहरूले केही नभएको भ्रम सिर्जना गरिहेको बताए । । देश लुट्ने कार्यमा लागिपरेका दृष्टान्तहरू भेटिने गरेको बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, “हिजोदेखि देश लुट्न पल्केकाहरू आज पनि देश लुट्ने बहानामा छन् । सरकार कदापि देश लुट्न दिँदैन । बालुवाटार प्रकरणको दोस्रो संस्करण अब सुरु हुन्छ ।”

गोरखापत्रलाई जनताको पत्रिका बनाउनुपर्ने बताउदै मन्त्री बाँस्कोटाले भने, “गोरखापत्रले सत्ताको गीत गाउँदैन, भजन, कीर्तन र आरती पनि गर्दैन, यसले जनताको जीवनगाथा समेट्दै लोकतन्त्रको जीवन्त प्रयोग गरेर समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सघाउँछ ।” गोरखापत्र संस्थानमा हालै भएका सुधारको प्रशंसा गर्दै उनले गोरखापत्रको नयाँ नेतृत्वप्रति सरकारले गर्व गरेको बताएका छन् । “गोरखापत्रले आफूलाई इतिहासमै अब्बल सावित गरिसकेको छ । नयाँ नेतृत्वले एक वर्षको छोटो अवधिमा धेरै परिवर्तन गरिसकेको छ,” मन्त्री बाँस्कोटाले बताए । “गोरखापत्रको नयाँ नेतृत्वप्रति म गर्व गर्दछु । यो टिमलाई बधाई दिन चाहन्छु ।” गोरखापत्रमा कार्यरत हरेक कर्मचारी र पत्रकारको क्षमता हरेक दिन बिहान अखबारमा देखिने बताउँदै मन्त्री बाँस्कोटाले भने, “गोरखापत्रमा अहिले धेरै सुधार भएका छन् । अझ केही सुधार गर्न बाँकी छ । त्यो पनि छिट्टै पूरा हुनेमा विश्वास लिएको छु ।” (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्