Logo

क्वारेन्टाइनका नेपाली कोरोनामुक्त



काठमाडौँ, ८ फागुन । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन ।

क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुसी छाएको छ । क्वारेन्टाइनमा बसेका अभिभावक तथा आफन्तमा समेत यो खबरले खुसी छाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमार्फत चीनबाट उद्धार गरी ल्याइएका १७५ जना व्यक्ति कोहीलाई पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएको प्रस्ट गरेपछि यस्तो खुसी छाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टोलीले आइतबार नेपालीको घाँटीको ¥याल सङ्कलन गरी परीक्षण गरेको थियो । परीक्षणका क्रममा १७५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले सरकारले उद्धार गरी ल्याएका सबै नेपालीको कोभिड–१९ भाइरसको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमण नभएको जानकारी दिँदै सबै नेपाली भाइरस सङ्क्रमणमुक्त रहेको बताएका छन् ।  उहाँले क्वारेन्टाइनमा राखेको १४ दिनका दिन नाक तथा घाँटीको ¥याल निकालेर परीक्षण गर्ने जानकारी दिँदै त्यसको रिपोर्ट नेगेटिभ आएको अवस्थामा क्वारेन्टाइनमा रहेका नेपाललाई घर जान दिइनेछ । राष्ट्रिय प्रयोगशालाले सबैजनाको परीक्षण गर्न तीन दिन लगाएको थियो ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले परीक्षणको पद्धतिबारे जानकारी दिएका छन् । उनले उद्धार गरिएको नेपालीको नमुनाहरूमा परीक्षण गर्दा कुनै पनि नमुनामा कोभिड–१९ को सङ्क्रमण नभएको जानकारी दिएका छन् । नआत्तिन आग्रह प्रवक्ता श्रेष्ठले क्वारेन्टाइन स्थल वरपरका स्थानीयलाई नआत्तिन आग्रह गर्नुभयो । चीनमा कोरोना भाइरसको महामारी भएपछि गत फागुन ३ गते १७५ जना नेपालीलाई सरकारले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । त्यसक्रममा नेपालीलाई लिन जाने चालक दलका सदस्यसहित १७ जनालाई नगरकोटस्थित खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ ।

विद्यार्थी खुसी
क्वारेन्टाइनभित्र रहेका नेपाली कोरोना भाइरसको रिपोर्ट कस्तो आउला भनेर कुरिरहेका थिए । क्वारेन्टाइनका प्रमुख डा. नवीन फुयालले कन्ट्रोल रुमबाट तपाईंहरूलाई बधाई छ, सबैजनाको रिपोर्ट नेगेटिभ आयो भनेरका छन् । त्यहाँ रहेका नेपाली ताली बजाएर खुसी हुन थाले । एकले अर्कालाई अङ्कमाल गर्न थाले । विद्यार्थी धेरै उत्साहित देखिन्थे । डा. फुयालले क्वारेन्टाइनमा रहेका विद्यार्थीमा खुसीको सीमा नै नरहेको जानकारी दिए । “उनीहरू ठूलो परीक्षामा पास भएजस्तै गरी उत्साहित थिए,” डा. फुयालले थपे, ‘‘एक जनाको मात्र पोजेटिभ रिपोर्ट आएको भए १७५ जनामा नै तनाव हुने थियो । धन्न कसैको पनि पोजेटिभ रिपोर्ट आएन ।”

राष्ट्रिय सभाका अध्यक्षद्वारा निरीक्षण
यसैबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले क्वारेन्टाइन निरीक्षण गरी त्यहाँको अवस्थाबारे जानकारी लिएको छ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अध्यक्ष तिमल्सिना आएर विद्यार्थीसँंग पनि अन्तक्र्रिया गरेको जानकारी दिएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्