Logo

बन्द हुने अवस्थामा वायुयान सङ्ग्रहालय



काठकाडौं, ८ फागुन । धनगढीमा सञ्चालित वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको छ । अपेक्षा गरिएअनुसार अवलोकनकर्ता नआउँदा आर्थिक समस्या भएपछि छ वर्ष अगाडि स्थापना भएको वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको हो ।

क्याप्टेन वेद उप्रेतीले २०७० सालमा सो सङ्ग्रहालयको स्थापना गर्नु भएको थियो । मासिक ३६ हजार रुपियाँ भाडा तिर्ने गरी लिजमा जग्गा लिएर सञ्चालन गरिएको वायुयान सङ्ग्रहालय सञ्चालनमा आर्थिक समस्या भोगिरहेको क्याप्टेन उप्रेतीले जनाए । “अहिलेसम्म जेनतेन आफँैले पैसा खर्च गरेर चलाइरहेको छु”, उनले भने, “साझेदार निकाय नभेटिँदा बन्द गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । ” स्थानीय सरकारले सङ्ग्रहालय सञ्चालनमा सहयोग गर्ने आफूले अपेक्षा गरेको उप्रेतीले गुनासो गरेका छन् । ग्राउन्डेड भएको कस्मिक एयरको फोकर–१०० जहाजको बडी ल्याएर उहाँले वायुयान सङ्ग्रहालयको निर्माण गर्नुभएको थियो । धनगढीको हसनपुरमा करिब छ कट्ठा जग्गा लिजमा लिएर सो सङ्ग्रहालय निर्माण गरिएको थियो । जग्गाको लिज सम्झौता अवधि आगामी चैत मसान्तमा सकिन थालेको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाले जग्गा उपलब्ध गराइदिएमा सङ्ग्रहालय सञ्चालन गर्न सहज हुने उप्रेतीको भनाइ छ । “यो सञ्चालन गरेर मलाई फाइदा छैन, मैले व्यक्तिगत फाइदाको अपेक्षा पनि गरेको छैन”, उनले भने तर जग्गा नपाउँदा सबैभन्दा बढी समस्या भएको छ । धनगढीको पर्यटनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको वायुयान सङ्ग्रहालयबाट भएको आम्दानीको रकम वेद उप्रेती ट्रस्टमा जम्मा गर्ने गरिएको छ । सो ट्रस्टको रकम क्यान्सर पीडितको उपचारमा सहयोग गरिन्छ । हालसम्म पाँच लाख रुपियाँ क्यान्सर पीडितहरूका लागि सहयोग गरेको उप्रेतीले जनाउनु भएको छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्