Logo

दुई अर्ब कमिसनको खेल भएको सेक्युरिटी प्रेस खरिद प्रकरण



रिपोर्टर्स नेपाल, ८ फागुन । अरबौंको कमिसनसम्बन्धी सेक्युरिटी प्रेस खरिद प्रकरणले नयाँ विवाद जन्माएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँँस्कोटा यसमा मुछिएका छन् । उनले कमिसन मिलाउन गरेको सेटिङको अडियो टेप सार्वजनिक भएको छ ।

सेक्युरिटी प्रेस खरिदमा विदेशका धेरै कम्पनिहरु सक्रिय भएका थिए । विशेषगरी यूरोपका कम्पनिहरुले आफ्नो एजेन्टमार्फत् सरकारमा प्रभाव राख्नेहरुसँग सम्पर्क बढाएका थिए । सेक्युरिटी प्रेस खरिदका लागि कहाँबाट बढी कमिशन आउँछ भनेर सरकारको जिम्मेवार पदमा रहेकाहरु नै सक्रिय बनेको खुलेको छ ।

सेक्युरिटी प्रेस खरिदका लागि ग्लोबल टेन्डर आव्हान गर्नुपर्नेमा त्यसो नगरी सरकार सरकारबीचमा सिधै जाने गरी रणनीति बनाइयो । ग्लोबल टेन्डर आव्हान गर्दा प्रक्रियामा जानुपर्ने भई समय लाग्ने र कमिशन पनि थोरै आउनसक्ने अवस्था बन्यो ।

सेटिङ गरेरै कहाँबाट बढी कमिशन आउँछ भनेर लागेको देखिन्छ । स्वीस कम्पनि पनि प्रतिष्पर्धामा थियो । तर, उसले पाएन । मन्त्री बाँस्कोटाले स्वीस कम्पनिको एजेन्टसँग पनि छलफल गरेको खुलासा भइसकेको छ । उनैले सेटिङका लागि सिधै डिल गरेका थिए । जसको अडियो रेकर्ड विजयप्रकाश मिश्रले सुरक्षित राखे । यसले खरिद प्रकरणमा भएको दुई अर्बभन्दा बढीको कमिशनको खेल छताछुल्ल भएको छ ।

कसरी बनाइयो खरिद प्रक्रिया

सेक्युरिटी प्रेस खरिद गर्न फ्रान्सको आइएन ग्रुप र जर्मनीको भेरिडोस कम्पनिसँग प्रस्ताव माग गरिएको थियो । ती कम्पनिसँग बैंक नोट उत्पादन गर्ने अनुभव नरहेको देखियो । कन्सल्टेन्सीको मात्र काम गर्ने कम्पनिसँगको प्रस्ताव मागले कमिशनको ठूलो खेल खुल्न थाल्यो ।

फ्रान्सबाट खरिद गर्न लागिएको सेक्युरिटी प्रिन्टिङ प्रेस सुरुमा २६ अर्ब रुपैयाँ लागत तय गरिएको थियो । तर, पछि २६ अर्बबाट बढाएर ४२ अर्ब रुपैयाँमा किन्ने निर्णय सरकारले गर्यो । यसबाट अर्बौंको कमिशनको आशंका भइसकेको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण गृहकार्य व्यापारी आङछिरिङ शेर्पाले गरेको विषय पत्रपत्रिकामा आएको थियो । शेर्पाको हेलिकोप्टर दुर्घटनामा निधन भइसकेको छ ।

शेर्पाले उक्त प्रेस फ्रान्ससँग गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) मार्फत् खरिद गराउने चाँजोपाँजो मिलाएका थिए । ताप्लेजुङको पाथिभराबाट फर्किदा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित व्यपारी शेर्पाको दुखद् निधन भयो । त्यहि दुर्घटना भएकै दिन फागुन १५ गते उनी सेक्युरिटी प्रेस खरिदको लागि फ्रान्स जान लागेका थिए । त्यसैकारण उनी हतारमा थिए । उनले गृहकार्य गरेको सेक्युरिटी प्रेस खरिद जीटुजीमार्फत भएपनि त्यसमा सहजकर्ता (एजेन्ट) का रुपमा शेर्पा नै थिए ।

जीटुजीबाट खरिद गर्दा पनि सरकार र विक्रेता देशबीच पुलको काम गर्न एजेन्टको आवश्यक पर्ने हुनाले शेर्पालाई राख्ने तय भएको थियो । तर, शेर्पाको दुखद् निधन भएपछि सेक्युरिटी प्रिन्टिङ प्रेसको एजेन्टका रुपमा सञ्चारमन्त्री बास्कोटाले विवादित ठेकेदार दिपक भट्टलाई इन्ट्री गराएका थिए ।

सेक्युरिटी प्रेस खरिदवापत एजेन्टले निश्चित प्रतिशत कमिसन पाउँछन् । १ प्रतिशत कमिशन पाउँदा पनि ४२ करोड हुन्छ। दुई प्रतिशत पाए ८४ करोड हुनेछ । ‘काम गर्ने कालु मकै खाने ‘’ भनेझैं आङछिरिङ शेर्पाले दुःख गरे, भट्टले फल खान पाउने भए भन्ने चर्चा सञ्चार मन्त्रालयका कर्मचारीहरुबीच हुने गरेको छ ।

नोट, चेक र सरकारले प्रयोग गर्ने स्टिकरहरु अब नेपालमै छपाई गर्ने गरी खरिद गर्न लागिएको थियो । नोटदेखि स्टिकर छपाईका लागि मात्र सरकारको वार्षिक १० अर्ब रकम विदेशिने गरेको तथ्यांक छ । निजी क्षेत्रले समेत छपाई गर्ने कागजातको हिसाव गर्दा वार्षिक १६ अर्ब रकम विदेशिने गरेको छ । तर, २६ अर्ब लागतबाट बढाएर ४२ अर्ब पु(याइएको विषयले गम्भीर आशंका पैदा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्