Logo

बालकोटस्थित ओली निवासमा बस्ने बास्कोटालाई प्रधानमन्त्रीले हटाउलान् ?



काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा राजीनामाको दबाबमा परेका छन् । उनलाई सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट राजीनामाको दबाब बढेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बाँस्कोटालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ । राप्रपा अध्यक्ष कमल थापालगायत नेताहरुले पनि बाँस्कोटालाई हटाउन माग गरेका छन् ।

नागरिक समाज र भ्रष्टाचारविरुद्धका अभियन्ताहरुले पनि सामाजिक सञ्जालबाट मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन् । यसबाट प्रधानमन्त्री ओलीमाथि समेत बाँस्कोटालाई हटाउन दबाब बढेको छ ।

आफ्नालाई असाध्यै च्याप्ने र बचाउन सक्ने ओलीले यसपटक बाँस्कोटाको टेपकाण्डका मामलामा के गर्लान् ? चासोको विषय छ । त्यसमाथि बाँस्कोटाले ओलीलाई पिता समान मान्छन् । ओली प्रधानमन्त्री भएर बालुवाटार बस्न थालेपछि बाँस्कोटा बालकोटस्थित ओली निवासमा बस्न थाले । यसबाट पनि बाँस्कोटा ओलीका अतिप्रीय हुन् भन्ने बुझिन्छ ।

विगतमा उनी निकटस्थ विवादमा मुछिंदा समेत जोगाएको इतिहास छ । कृपासुर शेर्पा एकजना महिलासँगको सम्बन्धबाट जन्मिएको बच्चाको बाबु भएको पुष्टि हुँदा त्यसलाई ओलीले व्यक्तिगत पहलमा सामसुम पारेर मन्त्री पद जोगाइदिएका थिए ।

ओलीले यसपटक बाँस्कोटालाई बचाउन भने सजिलो छैन । टेपकाण्ड आइसक्दा नेकपाभित्रबाट उनीमाथि दबाब बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्