Logo

जर्मनीको दुईवटा बारमा गोली चल्दा, नौ जनाको मृत्यु



८ फागुन । जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा मृत अवस्थामा फेला पारेको छ ।

फ्रान्कफर्टबाट करिब २० किलोमिटरको दूरीमा रहेको हनाउ शहरका “मिडनाइड” र “एरेना” नाम गरेका दुई वटा बारमा गोली प्रहार गरिएको थियो । उक्त गोलीकाण्डको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुग्नुका साथै आकाशबाट हेलिकप्टर मार्फत शंकास्पद व्यक्तिको खोजी गरिएको थियो ।

हेस राज्यका प्रहरी प्रमुखले शंकास्पद व्यक्तिको शव उनको घरबाट बरामद गरिएको जानकारी दिए । उनले घटनामा अरु व्यक्ति संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको बताए ।
पहिलो बारमा मारिएका अधिकांश व्यक्ति कुर्दिस समुदायका रहेको स्थानीय अखबार बिल्डले जनाएको छ ।

गत सोमबार मात्र प्रहरीले जर्मनीको अति दक्षिणपन्थी समूहका १२ जना सदस्यलाई पक्राउ गरेको थियो । उनीहरुले गत वर्ष न्यूजील्यान्डमा भएझै मुस्लिम समुदायको मस्जिदमा ठूलै आक्रमण गर्ने योजना बनाइरहेको प्रहरीको भनाई छ ।

जर्मन–टर्किस इस्लामिक संगठन (डिटिब) ले जर्मनीमा रहेका करिब ९०० मस्जिद र मुस्लिम समुदायको सुरक्षाका लागि आह्वान गरेको छ । डिटिबले पछिल्ला वर्षहरुमा मुस्लिम समुदायले जर्मनीमा असुरक्षा महशुस गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्