Logo

नेविसंघ अध्यक्ष ढुंगानासहित एक दर्जनमाथि प्रहरीको लाठी चार्ज, मोडेल हस्पिटलमा उपचार हुँदै (फोटोफिचर)



ईश्वर कार्की :  काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, र महामन्त्रीहरु उर्मिला थपलिया र युवराज पाण्डेसहित करिब एक दर्जन नेता/कार्यकर्ताहरु प्रहरीको लाठी चार्जबाट घाईते भएका छन् ।

बिहीबार साँझ निर्धारित कार्यक्रमअनुसार अध्यक्ष ढुंगानाको नेतृत्वमा नेविसंघका नेता तथा कार्यकर्ताहरु प्रदर्शनीमार्गस्थित् नेपाल पुलिस क्लबअघि जुलुशसहित विरोध प्रदर्शनमा उत्रिएका थिए । उनीहरुको प्रमुख माग गोकुल बाँस्कोटाले करोडौं कमिशन मागेको अडियो प्रकरणअनुसार तत्काल राजीनामा दिनुपर्ने र त्यसको विरुद्धमा उनीहरुले बाँस्कोटाको पुत्ला दहन गर्ने कार्यक्रम रहेको थियो ।

तर, कार्यक्रमअघि नै बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिएकाले आफुहरुले पुत्ला दहनबाहेक अन्य कार्यक्रम यथावत राखेको र सोहीअनुसार शान्तिपूर्ण तवरले प्रदर्शनमा उत्रिएको अध्यक्ष ढुंगानाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले आफूहरुले ‘राजीनामाले पुग्दैन्, गोकुल बाँस्कोटालाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ जस्ता नारा लगाएको जनाए । तर, प्रहरीले आफूहरुमाथि क्रुरता प्रदर्शन गरेको र अन्धाधुन्धा लाठी बर्साएको उनको आरोप छ । उनले भने,‘मलाई पनि टाउकोमा चोट लागेको छ, मलाई लडाएर बीच बोटामा लाठी चार्ज गरियो, हाम्रा महिला साथीहरुमाथि पुरुष प्रहरीले लाठी चार्ज गर्नुभयो ।’

अहिले अध्यक्ष ढुंगाना, उपाध्यक्षहरु थपलिया र पाण्डेसहित करिब एक दर्जन नेता तथा कार्यकर्ताहरुको बागबजारस्थित् मोडेल हस्पिटलमा उपचार भैरहेको छ ।

को–को घाईते भए ?

अध्यक्ष राजिव ढुंगाना, उपाध्यक्षहरु उर्मिला थपलिया, युवराज पाण्डे, नेताहरु सुरज सिलवाल, रामजी बस्नेत, दिनेश कार्की, सुशिला क्षेत्री, हेमन्त गुरुङ, लक्ष्मणजंग कडायत र गंगाराम न्यौपाने रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्