Logo

माधव नेपाल भन्छन् : भ्रष्टाचारीहरुलाई छोड्ने कुरै हुँदैन्



काठमाडौं, ८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले कोही पनि भ्रष्टाचारीहरुलाई नछोड्ने स्पष्ट पारेका छन् ।बिहीबार अपरान्ह बाराको सिमराबाट काठमाडौं आउने क्रममा विमानस्थलमा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘यो सरकारले भ्रष्टाचारीहरुलाई छोड्ने कुरै हुँदैन् । सरकारले आगामी दिनमा समेत भ्रष्टाचार अन्त्यको लागि प्रभावकारी कदम चाल्नुपर्छ ।’ उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भ्रष्टाचार निर्मुल पार्ने विषयमा पछिल्लो समय लामो सम्वाद भएको पनि जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्री ओलीले सरकारले राम्रो ‘डेलिभरी’ दिएको बताएका छन् । उनले सरकारको कामलाई प्रभावकारी रुपमा जनतासामू लैजानुपर्ने र जनताको मन जित्नुपर्छ भनेर आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको पनि जनाए ।

उनले भने,‘सरकारको काम प्रभावकारी बनाउनुपर्नेबारे मेरो उहाँसँग छलफल चाहीँ भैरहेको छ । आगामी दिनमा सरकार अझै कठोर रुपमा प्रस्तुत हुनुपर्छ ।’ उनले अमेरिकी सहयोग एमसीसीको बारेमा अहिले आफूले कुनै कमेन्ट नगर्ने स्पष्ट पारे । उनले भने,‘यस विषयमा सरकार र हाम्रो पार्टीको बेग्लाबेग्लै कुरा छ । म दुवै कुरा अहिले अध्ययन गरिरहेको छु । कार्यदलको कुरा पनि अध्ययन गरिरहेको छु । एमसीसी सम्झौताको विस्तृत अध्ययनमा म लागेको छु ।’



प्रतिक्रिया दिनुहोस्