Logo

असारमा आइजीपी सुनिश्चित गर्न पाँच डिआइजीबीच एआइजी बन्ने दौड



काठमाडौँ, ९ फागुन । अब नेपाल प्रहरीभित्र फेरि डिआइजीबाट सिधै आइजीपीको फूली लगाउने भाग्यमानी नहुने भएका छन् । नेपालमा प्रहरीका तीनजना आइजीपी सिधै डिआइजीबाट नियुक्त भए् । २५ औं आइजीपी प्रकाश अर्याल, २६ औं सर्वेन्द्र खनाल र २७ औं ठाकुरप्रसाद ज्ञवाली डिआइजीबाट सिधै आइजीपीमा बढुवा भएका हुन् ।

एआइजीको दरबन्दी भएपनि उनीहरु डिआइजीबाट सिधै आइजीपी बनेका हुन् । आफूभन्दा अघिल्लो ब्याचीको संख्या बढी भएकाले उनीहरुको व्यवस्थापन गर्दा आइजीपीले एआइजी नबनी आइजीपी बन्नुपरेको अवस्था छ । एआइजीका रुपमा कमाण्ड नसम्हाली आइजीपी बन्दा केही चुनौती पनि देखिने गरेको छ । अर्कोतर्फ डिआइजीहरुको संख्या ठूलो भई आइजीपीका लागि अस्वस्थ प्रतिष्पर्धा समेत भएको देखिन्छ । प्रकाश अर्याल आइजीपी हुँदा ठूलै काण्ड बन्यो । डिआइजीमा तेस्रो नम्बरका जयबहादुर चन्दलाई आइजीपी बनाउँदा विवाद आयो । सर्वोच्चमा मुद्दा दायर भएपछि दोस्रो नम्बरका प्रकाश अर्याल आइजीपी बने । तत्कालिन डिआइजी नवराज सिलवाल मुद्दा मामलामा लागेर जागिर छाडे । उनी अहिले ललितपुर १ का सांसद छन् ।

सर्वेन्द्र खनाल आइजीपी बन्दा पनि विवादरहित बनेन । खनालको पूरा कार्यकालमा उनका प्रतिष्पर्धी पुष्कर कार्की सहयोगीभन्दा चुनौती बने । यतिसम्मकी कार्कीसहितका तीन एआइजी र केही डिआइजीहरुले बिदाई समेत बहिष्कार गरे । यसले प्रहरीभित्रको आन्तरिक द्धन्द्ध छरपष्ट पा¥यो । खनालले आफ्नो कार्यकालभरी एआइजी र डिआइजीहरुमध्ये अधिकांशलाई पेलेरै राखेको खुल्यो । साथै उनले ज्ञवालीपछि आइजीपी बन्ने सम्भावितका लागि समेत मार्ग प्रशस्त गरिदिए । डिआइजी बढुवामा शैलेश थापा क्षेत्रीलाई एक नम्बर र हरि पाललाई दुई नम्बरमा पार्न सफल भए । प्रद्युम्न कार्कीप्रति उनी अनुदार देखिए । निरज शाहीलाई माथि तानेर कार्कीलाई चार नम्बरमा पु¥याए । जसका कारण कार्कीको भविष्यमा आइजीपी बन्ने सम्भावना कमजोर भयो ।

को को बन्लान् एआइजी
हालको नियमावली अनुसार प्रहरीमा तीन एआइजीको दरबन्दी छ । जसमा सात मुख्य प्रतिष्पर्धी छन् । वर्तमान आइजीपीका ब्याची तारिणी लम्साल र सूर्य उपाध्याय मुख्य प्रतिष्पर्धी हुन् । त्यसपछिको ब्याची हालको नियमावली अनुसार असारको अन्तिमतिर आइजीपीको दाबेदार हो । वरिष्ठताका आधारमा शैलेश थापा क्षेत्री, हरि पाल, निरज शाही र प्रद्युम्न कार्की मुख्य प्रतिष्पर्धी हुन् । लम्साल र उपाध्याय एआइजी बढुवामा परेपनि त्यसपछिको ब्याचीबाट एकजना अवश्य एआइजी बन्नेछन् । यसकारण अब एआइजीबाट आइजीपी बन्ने अवस्था बनेको छ ।

एआइजीका लागि पछिल्लो ब्याचीबाट थापा र पालको चर्को प्रतिष्पर्धा छ । अब जो एआइजी बन्छ उही आइजीपी बन्ने निश्चितप्रायः छ । यसका लागि दाबेदारहरुबीच दौडधुप चलिसकेको छ । यो ब्याचीभन्दा पछिल्लो ब्याचीका विश्वराज पोखरेल पनि बलियो दाबेदार बनेर देखापरिरहेका छन् । एआइजीमा उनले आफूभन्दा अघिल्लो ब्याचीका चारजनालाई उछिनेमा झण्डै तीन वर्ष आइजीपी बन्नेछन् । तर, यो फलामको च्युरो चपाउनु सरह हुनेछ । तर, पोखरेल निकै सक्रियतापूर्वक लागेपछि थापा, पाल, शाही र कार्की एकजुट भएको बुझिएको छ ।

यसैगरी, नेपाल प्रहरीभित्र सरुवा बढुवाको क्रम शुरु हुने देखिएको छ । कर्मचारी प्रशासनमा जर्नादन जीसी ल्याइएका छन् । चन्द्रकुवेर खापुङ काज सरुवा भएका छन् । जीसीलाई ल्याएर आइजीपी ठाकुर ज्ञवालीले धमाधम सरुवा बढुवा शुरु गर्ने भएका छन् । प्रहरीमा तीन एआइजी बढुवापछि दुई दर्जन भन्दा बढी डिआइजीको दरबन्दी खाली हुनेछ । त्यसपछि त्योभन्दा बढी संख्यामा एसएसपीको दरबन्दी खाली हुनेछ । ज्ञवालीको कार्यकाल प्रायः सरुवा बढुवामै जाने अवस्था बनेको छ । फाइल फोटो



प्रतिक्रिया दिनुहोस्