Logo

सरकारमा जाने सोच छाडी राजपा समाजवादीसँग एकतामा लाग्यो



काठमाडौँ, ९ फागुन । राष्ट्रिय जनता पार्टी सरकारमा जान तम्तयार भइसकेको थियो । राजपाभित्र सरकारमा जानुपर्ने मत बलियो हुँदै गरेको थियो । उसले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा नेकपासँग चुनावी गठबन्धन बनाएर सफलता समेत हासिल गरेको थियो । उसले राष्ट्रियसभा चुनावमा दुई सिट सुनिश्चित ग¥यो ।

प्रदेशमा समाजवादी पार्टीसँग गठबन्धन गरेको राजपाले नेकपासँग निकटता बढाएपछि सरकारमा जाने सम्भावना समेत देखिएको थियो । राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा गएमा पाउने मन्त्रालय र संख्याबारे समेत छलफल गरिसकेको थियो । उपसभामुख पदमा समेत प्याकेजमै सहमतिको प्रयास भइरहेको थियो । ओली सरकारबाट समाजवादी पार्टी फिर्ता भएपछि राजपा सरकारमा जाने सम्भावना बढ्दै थियो । यसैबीच राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो र शरतसिंह भण्डारी दिल्ली गए । उनीहरु एक हप्ता दिल्ली पुगेर महत्वपूर्ण भेटवार्ता गरे । दिल्लीको भेटलगत्तै राजपा नेताहरुले नयाँ रणनीति बनाए । उनीहरु कम्युनिष्ट नेतृत्वको सरकारमा नजाने निर्णयमा पुगे ।
राजपा नेताहरु दिल्ली पुगेर फर्किएलगत्तै नयाँ माहोल बन्नुलाई अर्थपूर्ण मानिएको छ । राजपा अब सरकारमा नजाने टुंगोमा पुगेको छ ।

यसबारे महतोसँग सोध्दा राजपा सरकारमा जाने अवस्था नभएको बताए । उनले भने, यथावस्थामा सरकारमा जान सकिदैन । राजपाले संविधान संशोधनको मुद्दालाई सर्तका रुपमा लिदै आएको छ । तर, मुद्दाभन्दा पनि राजनीतिक दिशा कता जाने भन्नेले राजपाको रणनीतिलाई निर्देशित गर्न थालेको छ । राजापाभित्र मधेश केन्द्रित दलहरुबीच एकता कायमै राख्नुपर्ने मत बलियो बनेको छ । विशेषगरी समाजवादी पार्टीसँगको दुरी कम गर्नुपर्ने आवाज उठेको छ । समाजवादीसँग राजपाको एकता प्रक्रिया फेरि अगाडि बढ्न थालेको छ । वैकल्पिक तेस्रो शक्तिका रुपमा समाजवादी र राजपाबीचको गठबन्धन बन्नसक्नेतर्फ एउटा पक्ष सक्रिय भइरहेको छ । अहिलेपनि समाजवादी र राजपाबीच एकता हुँदा बलियो तेस्रो शक्ति बन्ने देखिन्छ ।

राजपाभित्र नेपाली काँग्रेस कमजोर प्रतिपक्षी बनेको र सरकारको कामकारबाही विवादास्पद भएकाले माथि उठ्ने अवसर आएको विषय पनि नउठेको होइन । यसलाई सदुपयोग गर्दै समाजवादीसँग मिलेर अगाडि बढ्नुपर्नेमा कतिपय नेताहरुको जोड रहेको छ । विशेष गरी महतो समाजवादी पार्टीसँगको एकताको पक्षमा छन् । उनी यसमा सक्रियतापूर्वक लागेका छन् । तर, नेता नै नेता भएको दुई पार्टी एक बनाउन सजिलो छैन । राजपाभित्र अध्यक्षमण्डलमै छ जना नेता छन् । समाजवादी पार्टीमा दुई अध्यक्ष छन् । अब आठजना नेता भएको पार्टी समायोजन कठिन रहेको छ ।

राजपाले राष्ट्रिय सभा चुनावको दुई सांसद पाउन समाजवादी पार्टीसँगको सम्बन्धलाई बेवास्ता गरेको थियो । यसबाट समाजवादी पार्टीका नेताहरु राजपासँग चिढिएका छन् । यसकारण पनि एकता निकै कठिछ । अर्कोतर्फ, प्रधानमन्त्री केपी शर्मा ओली राजपाका केही नेताहरुलाई मन्त्री पदको लोभ देखाएर विच्काउन लागिपरेका छन् । उनी मधेश केन्द्रित दलहरुलाई कुनै हालतमा बलियो हुन नदिने गरी लागिपरेका छन् । फाइल फोटो



प्रतिक्रिया दिनुहोस्