Logo

ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै



काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी भित्र चर्किएको विवाद भुसको आगो बनेर फैलिइरहेको छ । संविधान अनुसार दुई वर्षभित्र सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन । यो अवधिभर प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली निकै शक्तिशाली भए ।

उनले आफ्नै दलका पूर्व प्रधानमन्त्रीहरुलाई टेरेनन् मात्र बालुवाटारमा डाकेर थर्काउने सम्म गरे । दुई वर्षभित्र कसैले हल्लाउन नसक्ने भएकाले ओलीले पेलेरै सरकार चलाए । तर, पछिल्लो समय ओली तिनै नेताहरुको साथ पाउन हारगुहार गर्न थालेका छन् । ओली कहिले माधवकुमार नेपाल त कहिले झलनाथ खनाललाई बालुवाटारमा डाकेर डिनर र लञ्चसहित घन्टौं छलफल गर्न थालेका छन् ।  ओलीले अब नेपाल, खनाल र गौतमको साथ नपाउने हो भने सत्ताबाट बर्हिगमित हुनुपर्ने देखिसकेका छन् । जतिसुकै नजिक बनेपनि प्रचण्ड निकै चतुर र रणनीतिक रुपमा सशक्त भएकाले ओली आत्तिएका हुन् । त्यसैले ओलीले गृहजिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गरेका छन् । उनले आइतबार सरकार ढाल्ने खुलासा त्यतिबेला गरे जब सरकारले दुई वर्ष कार्यकाल पूरा गरेको एक दिनमात्र बितेको थियो । दुई वर्ष बित्दै गर्दा सरकार ढाल्ने षड्यन्त्र भएको भन्नुले नेपाली राजनीतिमा कुनै न कुनै तरंग आउन लागेको संकेत मिलेको छ । ओली पार्टीको संसदीय दलमा अझै मजबुत देखिन्छन् । तर, राजनीति सम्भावनाको खेल हो । आफ्नो भन्नेले नै भविष्यमा साथ छाड्न सक्छन् । ओली यसकारण मात्र आत्तिएका होइनन् । उनले पार्टीभित्र आफूलाई हटाउने चलखेलको सुइँको पाएरै बोलेका हुन् ।

ओलीको शक्ति
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपनि ओली स्पष्ट बहुमतको अवस्थामा छन् । उनी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी पूर्ण बहुमतमा छ । पार्टीभित्र संसदीय दलमा पनि ओली बहुमतमा छन् । तर, यति भन्दैमा अब ओली दुई वर्ष जसरी ढुक्क थिए अब ढुक्क हुने अवस्था छैन । उनलाई विगतमा साथ दिनेले साथ छाड्न थालिसकेका छन् ।

पद र लाभ पाउनेले बाहेक ओलीलाई उनकै निकटस्थले रुचाउन छाडेका छन् । स्वयं महासचिव विष्णु पौडेल उनीसँग सन्तुष्ट छैनन् । ललिता निवास काण्डमा दाग लागेपछि पौडेल समस्यामा परे । यसमा ओलीकै भूमिका मुख्य कारण थियो । सचिवालय सदस्य इश्वर पोखरेलको पनि भरोसा छैन । पोखरेल रक्षा मन्त्रालयको जिम्मेवारीमा छन् । तर, सेना हालीमुहाली हुने क्षेत्रमा उनको भूमिका केही देखिएको छैन । स्थायी समिति सदस्य भीम रावल ओलीविरुद्ध जेहाद नै छेडिरहेका छन् ।  हुनत ओलीलाई पाँच वर्ष पूरा कार्यकाल दिन नेकपाका अर्का अध्यक्ष प्रचण्ड सहमत भएका छन् । कार्यकारी अधिकारसहितको अध्यक्ष पाएपछि प्रचण्डले त्यो वचन मात्र दिएनन् सार्वजनिक रुपमै बोले । तर, राजनीतिमा षड्यन्त्र भइनै रहन्छ । त्यसमाथि प्रचण्ड यसमा निकै माहिर छन् । जसका कारण ओलीसँग प्रचण्ड चनाखो बनेका छन् । प्रचण्डकै भूमिकाले ओलीलाई बेला बेलामा झस्काउने गर्छ ।

ओली सरकारलाई अहिले कसैबाट खतरा छ भने प्रचण्डबाट मात्र छ । प्रचण्डले जबसम्म साथ दिन्छन् तबसम्म ओली सरकार आरामदायी बहुमतका साथ अगाडि बढ्छ । तर, प्रचण्डले कथंकदाचित् चलखेल गरेमा ओली सरकार ढल्ने अवस्था नबन्ला भन्न सकिदैन । प्रचण्डले भूमिका खेले भने यसपटक माधवकुमार नेपालले पनि साथ नदेलान् भन्न सकिदैन । ललिता निवास काण्ड देखि सिंगापुर जानुअघि बालुवाटारमा झाँको झारेको पीडा नेपाललाई छ । कुनैबेला आफ्नै मुनी बसेर काम गरेका ओलीले हप्काएको पीडाले माधव नेपालमा अझै छटपटाहट छ । यसकारण पनि नेपालले कुनैपनि बेला ओलीविरुद्धको रणनीतिमा सक्रियता देखाउने सम्भावना छ । अहिले उनी प्रचण्ड नजिक पुग्दै गर्दा ओलीले फकाउन खोजिरहेका छन् । तर, प्रदेशमा समेत ओली पक्षले एकलौटी गरेपछि नेपाल रुष्ट छन् । जुन बागमती प्रदेशमा भौतिक पूर्वाधारमन्त्री बनाउँदा ओलीकै निर्देशनमा डोरमणि पौडेलले देखाएका छन् ।

आफूविरुद्ध प्रचण्ड कुनैपनि बेला सक्रिय हुनसकने भयले ओली नेकपाभित्रका पूर्व एमालेलाई एउटै ठाउँमा ल्याउन खोजिरहेका छन् । बासुँरी र सारङ्गी कुटनीतिको सन्देश यही हो । ओलीले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग एक्ला एक्लै छलफल गरिसकेका छन् । खनाल, नेपाल र गौतम ओलीसँग असन्तुष्ट रहँदै आएका छन् । पछिल्लो समय सम्बन्धमा केही सुधार भएको छ । गौतमलाई उपाध्यक्ष बनाएर ओलीले चुप लगाएका छन् । तर, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको चाहना ओलीले पूरा गरिदिएनन् । यसबाट उनी सन्तुष्ट छैनन् । गौतम नेकपाभित्र तेस्रो शक्तिशाली देखिदै गएका छन् । उनीसँग स्थायी समितिका अलावा संसदीय दलमा पनि ओली र प्रचण्ड पछि बलियो पकड छ । गौतमले प्रचण्डलाई साथ दिएमा ओली अप्ठ्यारोमा पर्न सक्छन् । त्यसमाथि माधवकुमार नेपाल टाढिएमा झन् समस्या पर्न सक्छ । यस्तो माहोल बन्न नदिन ओली चार्तुयतापूर्वक लागिपरेका छन् ।

अहिले नेकपाभित्र अमेरिकी विकाससम्बन्धि एमसीसीको विषय पेचिलो बनेको छ । नेकपाभित्र प्रभावशाली नेतामध्ये ओलीबाहेकका नेता यसको पक्षमा कित खुलेका छैनन् कि त विरोधमा छन् । यसले ओलीलाई असजिलो पार्नसक्छ । संसदबाट एमसीसी पारित नभए ओली सरकार नै धरापमा पर्न सक्छ । यसकारण पनि ओलीले एमसीसी असफल बनाएर सरकार ढाल्ने षड्यन्त्र भएको संकेत गरेका हुन् । एकातर्फ एमसीसी अड्काउन खोजिएको छ भने अर्कोतर्र्र्फ प्रचण्ड स्वयं एमसीसी संशोधनसहित पारित हुुुने भनिरहेका छन् । यसले राजनीतिकवृत्तमा संशय निर्माण भएको छ ।

ओलीलाई सत्ताबाट हटाउन शक्तिकेन्द्रहरु लागेको विषय पनि चर्चामा छ । स्वयं उनले शक्तिकेन्द्रहरु लागेको बताएका छन् । ती शक्तिकेन्द्र देशभित्रका हुन् या बाहिरका हुन् स्पष्ट छैन । तर, ओलीले आफू नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भएको खुलाउनुले केही न केही पाकिरहेको संकेत गरेको छ । आउँदा दिनहरु ओली सरकारका लागि चुनौतीपूर्ण बनेकोछ । त्यो चुनौती कमजोर प्रतिपक्ष नेपाली काँग्रेसबाट नभएर ओलीका नेकपाभित्रका प्रतिष्पर्धीहरुबाट रहेको छ । फाइल फोटो



प्रतिक्रिया दिनुहोस्