Logo

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि



धनगढी, ९ फागुन : ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १० लाख एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितको आयोजनामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

विद्यालयमा तेक्वान्दो अनिवार्य

धनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षणलाई अनिवार्य गरिने भएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदीप थापाबीच तेक्वान्दो खेललाई विद्यालयमा अनिवार्य गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको विकासको लागि कोरियाको तेक्वान्दो प्रमोशन फाउण्डेशनले इच्छा व्यक्त गर्दै सहयोग पनि पु¥याउन लागेकाले विद्यालय तहमा तेक्वान्दो अनिवार्य गर्न पहल गरिएको उपमहानगरपालिकाका प्रमुख वडले जानकारी दिए ।

हालै नगरप्रमुख वड, नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रदीप थापा, धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवाष शाही र कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष मोहित शाह कोरिया भ्रमण गरेका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्