Logo

लेखा समितिका कस्ले कति पैसा बार्गेनिङ गरेको हो विजय मिश्रले खुलाउनुपर्छ- सूर्य पाठक



काठामाडौं, ९ फागुन ।  भ्रष्टाचार कदापि सह्य नहुने बताएका छन् । देशमा ठूला योजनाहरुमा हुनेगरेका भ्रष्टाचार र अनियमितताबारे लेखा समितिले गहिरो ढंगले अध्ययन गरिरहेको खुलाएका छन् । पाठकसँग यीनै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः

तपाईं लेखासमिति सदस्य सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद बारे बताउनुस् न ?
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा नेपाल सरकारले दुई प्रस्तावको अध्ययन गरिरहेको रहेछ । एउटा फ्रान्सबाट र अर्को जर्मनीबाट । यद्यपि सरकारले कुन ल्याउने भनेर निर्णय गरेको अवस्था भने छैन । त्यसै सन्दर्भमा सार्वजनिक लेखासमितिमा पनि यसले प्रवेश गर्यो । यसरको खरिद सम्बन्धमा केही कुराहरु मिलेनन् कि भनेर लेखासमितिमा कुरा आइसकेपछि हिजो सम्बन्धित अधिकारीहरुलाई बोलाएर छलफल गरेका छौं । उहाँहरुबाट प्राप्त जवाफप्रति हाम्रो सन्तुष्टि रहेन । त्यसकारण थप छलफल गर्ने गरी हिजोको बैठक टुंगिएको छ ।
निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा कसरी यो प्रकरणमा मुछिनुभयो ?
अस्तिबाट सञ्चारमन्त्री र आपूmलाई स्वीस कम्पनिको नेपालका लागि एजेन्ट दावी गर्ने मिश्रको बीचमा एउटा अडियो प्रकरण सार्वजनिक भएको छ । त्यो तपाईंहरुलाई राम्रोसँग थाहा छ, त्यसैको नैतिक जिम्मेवारी लिँदै त्योबारेमा कुराहरु उठेपछि सम्बन्धित मन्त्रीले राजीनामा दिइसकेको अवस्था छ । लेखासमिति त्यो खरिद प्रकरण विधि र विधानसम्वत छ कि छैन, सार्वजनिक खरिद ऐन सम्वत छ कि छैन । त्यसमा कुनै गडबडी हुनेखालको आशंका गर्ने ठाउँ छ कि छैन । यी सबै पाटाहरुमा सुष्म ढंगले छानविन गरिने छ । जे गर्दा देश र जनताको हितमा हुन्छ लेखासमितिले त्यही निर्देशन दिने छ ।
भ्रष्टाचारको विषयमा लेखासमितिले पनि छानविन गर्छ, तर अहिलेसम्म कसैलाई कारबाही गरेको छैन नि ?
सबैभन्दा पहिलो कुरा यो सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद भइसकेको छैन । यसको खरिदको विषयमा जुन अडियो रेकर्ड आमजनतामा सार्वजनिक भएको छ । व्यक्तिगत रुपमा मन्त्रीले राजीनामा दिनुभएको छ । भोलि त्यो विषयमा आवश्यक परे लेखासमितिले सोध्न सक्छ ।
त्यो प्रेस किन्न खोज्दा त राष्ट्रको ढुकुटीमा त ठूलो आर्थिक चलखेल भएको रछ नि ?
यसमा आर्थिक चलखेल भएको छ कि छैन, कुन कुन तरिकाबाट खरिद प्रक्रिया आह्वान गरियो, त्यसको लागि कुन–देशसँग पत्राचार गरियो, त्यो मोडेलमा किन गइयो भन्ने सबैलाई समेटेर हिजो लेखासमितिले सम्बन्धित मन्त्रालयका सचिव र मुद्रण विभागका महानिर्देशकसँग कुराकानी गर्न बोलायो । हामीले केही प्रश्नहरु तयार गरेका थियौं । ती प्रश्नहरुको चित्तबुझ्दो जवाफ नआएकाले यसको लागि थप छलफल गर्ने भनेर यसको लागि कुनै प्रक्रिया अगाडि नबढाउनु भनिएको छ । यस विषयमा कुनै पनि ढाकछोप हुने छैन । गलत गर्ने मान्छेले यसबाट उन्मुक्ति पाउँदैन ।
मन्त्रीले नै कमिसनको लागि प्रस्ताव गर्नुभयो नि ?
त्यसको लागि त उहाँले कुरा उठेपछि राजीनामा दिइसक्नुभएको छ । उहाँले नै यसबारेमा प्रष्ट पार्नुहुनेछ र पार्नुपर्छ । पछिल्लो समय नेपालमा मन्त्रीको बारेमा गलत कुरामा प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने परम्पराको विकास भएको छ । यो सकारात्मक कुरा पनि हो । जसरी प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख पनि हेर्न चाहन्न भन्नुभएको त्यसले नेपालमा सुशासनको लागि राम्रो अभ्यास चलिरहेको छ भन्ने हिसाबले पनि बुझ्नुपर्छ । मन्त्री होस् वा अन्य व्यक्तिमा नैतिकतामाथि प्रश्न उठिसकेपछि पदबाट राजीनामा दिनुपर्छ । त्यसको लागि नेपालमा एउटा नजिर बनेको छ । यसले लोकतन्त्रलाई बलियो बनाउँछ ।
प्रधानमन्त्रीको विश्वास पात्र भएकाले सरकारै त्यसमा संलग्न भएको तथ्यांकहरु बाहिर आएको छ नि ?
प्रधानमन्त्रीको हिजोको व्यक्तव्य पनि हेर्नुभयो होला । उहाँले भ्रष्टाचारी र अपराधीको मुख हेर्नुहुने छैन । यसै अनुसार व्यवहारमा पनि आपूmलाई कायम गर्नुभएको छ । उहाँले सम्बन्धित ठाउँमा निर्देशन पनि गर्नुभएको छ । यो अडियो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआईबीलगायतका संस्थाहरुले छानबिन गर्नुहोस् भनेर सार्वजनिक रुपमै छानविन गरेर दोषीमाथि कडाभन्दा–कडा कारबाही हुनुपर्छ भनेर निर्देशन गर्नुभएको छ ।
नेपालको लोकतन्त्र नै भ्रष्टाचारीहरुको हातमा जाने हो कि ?
हिजाको दिन कस्ता डरलाग्दा प्रकरण हुँदा पनि ढाकछोप गर्ने चलनहरु थिए । कस्ता–कस्ता प्रकरणहरु सार्वजनिक भएका थिए । तर, कसैले पनि त्यसको नैतिक जिम्मेवारी लिएका थिएनन् । आज वर्तमान सरकार दृढतापूर्वक उभिएको प्रमाण पनि हो । सरकारले कुनै पनि गलत कामको ढाकछोप गर्दैन ।
विजय मिश्रले त प्रधानमन्त्रीकोमा दुई महिना अगाडि त्यो फाइल आइसकेको थियो भन्नुभएको छ नि ?
विजय मिश्रले सार्वजनिक लेखासमिति जस्तो संस्था जसले त्यसको अध्ययन गरिरहेको त्यत्तिकै समितिलाई विवादित बनाउने काम गरेको छ । समितिका सदस्यको प्रतिष्ठामाथि आँच आउने गरी जुन सार्वजनिक गरे त्यसको जिम्मेवारी जवाफदेही हुनुपर्छ । र, त्यो उनले प्रमाणित गर्नुपर्छ भनेर लेखासमितिले निर्देशन गरेको छ ।
विजय मिश्रले त लेखासमितिका सदस्यहरु पनि सेटिङमा लागेका छन् भनेका छन् नि ?
हो, अब उनले के प्रमाणित गनुपर्छ भने कुन लेखासमितिको सदस्यले कुन मिटिङमा डिलिङ गरेको हो । उहाँ त अडियो पनि राख्न सिपालु हुनुहुन्छ । अरु प्रमाणहरु पनि राख्नुभएको होला । यो कुरा उहाँले प्रमाणित गर्नुपर्छ ।
उहाँले अझ लेखासमितिका सदस्यहरुले मसँग पनि बार्गेनिङ गरेका छन् भन्नुभएको छ नि ?
कसले उहाँसँग बार्गेनिङ गर्यो । त्यसलाई उहाँले प्रमाणित गर्नुपर्छ ।
तपाईंहरुले उहाँलाई ‘हामीलाई कमिसन आउँछ कि आउँदैन’ भन्नुभयो रे नि ?
त्यही त कसले उहाँसँग बार्गेनिङ गरेको छ, त्यसलाई खुलाउनुपर्यो । होलसेलमा सबैलाई मुछ्न पाइँदैन ।
लेखासमितिका सदस्यहरु पनि सेटिङ गर्न सिपालु छन् नि ?
हामीले त्यहाँ इमानदारपूर्वक मेहनतका साथ काम गरिरहेका छौं । अनि कसले त्यसलाई सार्वजनिक गरिदिनुपर्यो नि । सबैलाई एउटै घानमा हाल्न मिल्छ । उहाँले त फलानो लेखासमितिको सदस्यले मसँग यो समयमा बार्गेनिङ गरेको हो भन्नुपर्यो । त्यो कुरा पनि सार्वजनिक गरिदिनुस् भन्ने आग्रह हो ।
विजय मिश्रले त ‘मसँग धेरै प्रमाण छन्’ भन्नुभएको छ नि ?
ती कुरा विजय मिश्रजी सार्वजनिक गरिदिनुभयो भने देशको लागि हित नै हुने छ । यसले सार्वजनिक लेखासमिति त्यस्ता खालका सांसदहरु आए भने त्यहाँ पनि गम्भीर रुपमा छलफल हुन्छ ।
लेखासमितिले अनियमितताको छानविन गर्छ तर कसैलाई कारबाहीको सिफारिस गर्दैन नि ?
मलाई अरुको जिम्मेवारी लिने अधिकार छैन । म मेरो जिम्मा लिन्छु । मेरो प्रतिष्ठामाथि कसैले आरोपित गर्छ भने त्यो पुष्टि गर्नुपर्छ मेरो चुनौती पनि हो । मैले अहिलेसम्म गल्ती गरेको छैन । जुन दिन गल्ती गरेको प्रमाणित हुन्छ एकछिन पदमा बस्ँिदन ।
यति समूहमा त मन्त्री पनि मुछिएको बाहिर आएको छ, तपाईंहरु छानविन राम्रोसँग गर्नुहुन्छ ?
यती समूहको बारेमा हामीकोमा आएका विषयमा कुनै आग्रह, पूर्वाग्रह नराखिकन छलफल गरिराखेका छौं । वाइडवडी, चिनी प्रकरण, सिमेन्ट गुस्तर मापदण्ड लगायतका विषयमा जसरी खराब ढंगले अगाडि बढाउन खोजिएको थियो । त्यो पनि सार्वजनिक लेखासमितिले नै रोकेको हो । एनसेलको बारेमा पनि छलफल भइरहेको छ ।
पूर्व सूचनामन्त्री गोकुल बाँस्कोटाले ममाथि छानविन होस् भन्नुभएको छ, सार्वजनिक लेखासमिति र अख्तियारले छानविन गर्नुपर्छ कि पर्दैन ?
यत्रो विवाद बाहिर आइसकेपछि सरकारले उहाँमाथि छानविन गर्नुपर्छ ।
भ्रष्टाचारी ठहरिन्छ भने कारबाही गर्नुपर्छ हो ?
डेफिनेट्ली, जो कोहीलाई पनि गलत काम गरेको प्रमाणित हुन्छ भने उसलाई कारबाही गर्नुपर्छ । नेकपा कुनै नेता, सांसद दोषी ठहरिएर कारबाही भए छ भने नेकपाले जुलुस निकाल्दैन ।
तपाईंहरुले गोकुल बाँस्कोटालाई बोलाएर बयान लिनुभयो ?
अस्ति मात्रै यो विषयमा कुरा आएको हो । त्योभन्दा पहिला सम्बन्धित अधिकारीहरुलाई बोलाएर छलफल गरेका छौं । आवश्यक परेको खण्डमा आगामी दिनमा पनि उहाँलाई बोलाएर छलफल गर्छौ । संसदीय समितिले त्यो अधिकार राख्छ ।
यो प्रकरण आइसकेपछि उहाँलाई बोलाइसक्नुपर्ने होइन ?
हाम्रो पनि एउटा प्रक्रिया हुन्छ । हामीले पहिला सम्बन्धित अधिकारीसँग डकुमेन्ट मगाउँछौं ।
विजय मिश्रलाई बोलाउनुभयो, गोकुल बाँस्कोटालाई किन बोलाउनुभएन ?
उनले आएर एउटा विधि अनुसार आएर आफ्ना कुरा राखे । त्यसपछि थप छलफलका लागि सम्बन्धित अधिकारीहरुलाई बोलायौं । जसलाई बालाउने संसदीय समितिले अधिकार राख्छ भने कसैलाई माया गर्नुपर्ने छ र ।



प्रतिक्रिया दिनुहोस्